सरकार फासीवादी शासनतर्फ उन्मुख छ : रामबहादुर थापा

ड्रागन मिडिया सम्वाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले सरकारको छमहिने कार्यशैलीको आलोचना गर्दै मुलुकलाई ‘फासीवादी’ शासनतर्फ लैजान खोजेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सत्तापक्षले संसद्लाई ‘प्रतिच्छाया’ संस्थाका रूपमा सीमित गर्न खोजेको बताए। निर्वाचनमा आफ्नो दलले भोगेको पराजयलाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले चुनाव जित्दैमा प्रतिपक्षका आवाज बेवास्ता गर्ने अधिकार सरकारलाई नदिएको बताए।
संसद्मा दर्ता भएका दर्जनौँ विधेयकमा प्रतिपक्षका सुझावलाई पर्याप्त स्थान नदिई सरकारले आफ्नै धारणा लाद्न खोजेको उनको आरोप थियो। राजनीतिक सहमति कायम गर्न सभामुखले प्रभावकारी अगुवाइ गर्न नसकेको भन्दै उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।
“पराजय स्वीकार गर्नु आत्मसमर्पण होइन; हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ,” थापाले भने, “लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्छ। तर सत्तापक्षले सङ्ख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गरिरहेको छ।”
भदौ १० को ठूलो विपद्पछि सर्वपक्षीय संयन्त्र बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको पहललाई उनले स्वागत गरे। तर संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगर्नु त्रुटिपूर्ण भएको उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्रीको गिरफ्तारीसहित पछिल्ला राजनीतिक घटनाक्रम उल्लेख गर्दै थापाले सरकारको यात्रा क्रमशः ‘फासीवादी’ मार्गतर्फ अग्रसर भएको आरोप लगाए।





