खतिवडाको मृत्युबारे अनुसन्धान, मोबाइल फरेन्सिक परीक्षणका लागि पठाइने

ड्रागन मिडिया सम्वाददाता
झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु) मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। उनको मृत्यु हुनुअघि सामाजिक सञ्जालमा लेखिएका दुई पोस्ट र इनम सापकोटासँग जोडिएका दाबीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
खतिवडाले शनिबार फेसबुकमा आफ्नो परिवार र बुबालाई दोष नदिन आग्रह गर्दै सामाजिक सञ्जालमा फैलिएका आरोपको खण्डन गरेका थिए। आइतबार बिहान अर्को पोस्ट लेखेको केही समयपछि उनी घरमै मृत भेटिएका थिए।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार प्रहरीले सोमबार बिहान खतिवडाको घरबाट मोबाइल फोन बरामद गरेको छ। उक्त फोन परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको फरेन्सिक प्रयोगशालामा पठाउने तयारी भइरहेको उनले बताए।
सामाजिक सञ्जालमा इनम सापकोटासँग खतिवडाको परिवारको कुराकानी भएको विवरण सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका थिए। प्रहरीले यी दाबीको सत्यताबारे अनुसन्धान गरिरहेको जनाएको छ।
कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईंका अनुसार खतिवडाको मोबाइलमा घटनासम्बन्धी केही विवरण भेटिएको छ। प्रहरीले भने अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक गर्ने जनाएको छ। खतिवडाको भद्रपुर अस्पतालमा पोस्टमार्टमपछि परिवारले शव बुझेको प्रहरीले जनाएको छ।





