१ मंसिर २०८३, सोमबार

नवऔपनिवेशिकताका सबै रूपको विरोध गर्छ रुसः पुटिन

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नवऔपनिवेशिकताका सबै रूप र अभिव्यक्तिको रुसले विरोध तथा निन्दा गर्ने बताएका छन्। उनले दबाब दिन बल प्रयोग गर्ने र प्रतिबन्ध लगाउने अभ्यासलाई पनि नवऔपनिवेशिकताको स्वरूपका रूपमा उल्लेख गरेका छन्।

‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ नामक नवऔपनिवेशिकताविरुद्धको समर्थक मञ्चको महासभाका आयोजक तथा सहभागीलाई सोमबार पठाएको शुभकामना सन्देशमा पुटिनले यस्तो बताएका हुन्।

विश्वमा गहिरो परिवर्तन भइरहेको र बहुध्रुवीयता तथा वास्तविक समानतामा आधारित न्यायपूर्ण र लोकतान्त्रिक अन्तर्राष्ट्रिय सम्बन्धको माग बढिरहेको उनले उल्लेख गरेका छन्। तर केही पश्चिमी देशका नवऔपनिवेशिक महत्त्वाकाङ्क्षा त्यस दिशामा अघि बढ्न बाधक रहेको पुटिनको भनाइ छ।

एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशमाथि प्रत्यक्ष शासन छाड्न बाध्य भएका पूर्वऔपनिवेशिक शक्तिहरूले ती देशको अर्थतन्त्रमा नियन्त्रण कायम राख्न, आन्तरिक मामिलामा हस्तक्षेप गर्न र परराष्ट्र नीतिलाई प्रभावित पार्न खोजिरहेको उनले आरोप लगाएका छन्।

रुसले विश्व बहुमतका देशले आफ्नो सार्वभौमिकता र स्वतन्त्रता सुदृढ गर्ने आकाङ्क्षालाई समर्थन गर्ने पुटिनले बताएका छन्। अन्तर्राष्ट्रिय सहकार्य सर्वमान्य अन्तर्राष्ट्रिय कानुन, एकअर्काका वैध हितप्रतिको सम्मान र पारस्परिक लाभमा आधारित हुनुपर्ने उनको भनाइ छ।

मञ्चको सामूहिक कार्यले अन्तर्राष्ट्रिय सम्बन्धमा न्याय, समानता र असल छिमेकीपनका मूल्य प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सभाको सफलताको कामना गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button