‘सुरमा गाँसिएको आत्मा’ शीर्षकमा ल्हाक्यी र शिष्यहरूको संगीत प्रस्तुति

ड्रागन मिडिया समाचार कक्ष
गायिका ल्हाक्यी र उनका शिष्यहरूको सांगीतिक कार्यक्रम ‘सुरमा गाँसिएको आत्मा’ नोभेम्बर १३ को साँझ चीनको छेङ्दुस्थित खाम्पा टेलिभिजन स्टुडियोमा आयोजना गरिएको छ। यो ल्हाक्यी र उनका विद्यार्थीहरूको तेस्रो संयुक्त सांगीतिक कार्यक्रम हो।
लामो समयदेखि आफूले प्रशिक्षण दिएका विद्यार्थीलाई मञ्च उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ। विद्यार्थीहरूले वर्षौँको अभ्यासबाट सिकेका गायन र संगीतकला प्रस्तुत गरेका थिए। कार्यक्रमले तिब्बती परम्परागत संगीतप्रतिको सम्मान र गुरु–शिष्यबीचको आत्मीय सम्बन्धलाई पनि अभिव्यक्त गरेको थियो।


कार्यक्रममा तिब्बती संगीतका विविध क्षेत्रीय शैली समेटिएका थिए। ङारीका लोकगीत, आम्दोको द्रोल लेन, खाम क्षेत्रका बा गीत र गेसर राजाको महाकाव्यमा आधारित कथागायनसँगै आमाबुबाको सम्झना र जन्मभूमिको प्रशंसा गर्ने आधुनिक गीत प्रस्तुत गरिए। परम्परागत धुन र आधुनिक प्रस्तुतिको संयोजनले कार्यक्रमलाई विविधतापूर्ण बनाएको थियो।
ल्हाक्यी र उनका विद्यार्थीले आ–आफ्नो स्वरशैली निखार्न लामो समय अभ्यास गरेका थिए। विद्यार्थीहरूले आफ्नो क्षेत्रका संगीतकारबाट साथवादनसम्बन्धी सीप सिकेका थिए। यसले कार्यक्रममा आफैँ वाद्य बजाउँदै गाउने शैलीलाई पनि विशेष स्थान दिएको थियो।


गायिका ल्हाक्यीका संगीत गुरु दोरे, नाम्खा तथा तोदे गीतका गुरु ताशी दोर्जे र बा गीतका गुरु काल्जाङ नोर्बु कार्यक्रममा सहभागी भई प्रस्तुति दिएका थिए। कान्लो प्रान्तको लुच्यु जिल्लास्थित गीत–नृत्य टोलीले पनि नृत्यमार्फत संगीत कार्यक्रमलाई साथ दिएको थियो। ल्हाक्यीसँग लामो समयदेखि परिचित गायक–गायिका तथा कलाकारहरू दर्शकदीर्घामा उपस्थित भएर कार्यक्रमप्रति शुभकामना व्यक्त गरेका थिए।
ल्हाक्यी गार्जे तिब्बती स्वायत्त प्रान्तको सेर्तारबाट आएकी हुन्। ‘नास्खुर बुमो’का रूपमा पनि चिनिने उनले युवावस्थादेखि तिब्बती लोकसंगीत र पुर्ख्यौली धुनको अभ्यास गर्दै आएकी छन्। ङारी, खाम र आम्दो क्षेत्रका गीत तथा वाद्यसंगीतमा उनले निरन्तर अध्ययन गरेकी छन्। नयाँ पुस्ताका गायिकालाई प्रशिक्षण दिएर तिब्बती संगीतकला हस्तान्तरण गर्ने काममा पनि उनी सक्रिय छिन्।

यसअघि ल्हाक्यीले विद्यार्थीहरूसँग दुईवटा संयुक्त सांगीतिक कार्यक्रम आयोजना गरेकी थिइन्। ती कार्यक्रमले दर्शकको राम्रो प्रतिक्रिया पाएको आयोजक पक्षले जनाएको छ। यसपटकको प्रस्तुति खाम्पा टेलिभिजनका विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। आयोजकका अनुसार देशभित्र र बाहिरका लाखौँ दर्शकले कार्यक्रम हेरेका थिए।





