१ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री शाहद्वारा सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालयका सदस्यहरूको कार्यसम्पादन समीक्षा गर्दै पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिएका छन्। संयोजकहरूले सहसचिवसरह र उपसंयोजकहरूले उपसचिवसरह सेवा–सुविधा पाउनेछन्। यसअघि सचिवालयमा संयोजक र उपसंयोजक तोक्ने अभ्यास थिएन।

सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय, सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय, विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय, दीपा दाहाललाई मिडिया व्यवस्थापन र विश्व राईलाई सामाजिक विकास समन्वयको जिम्मेवारी दिइएको छ।

यसअघि उपसचिवसरहको जिम्मेवारीमा रहेका अधिकारीको पद बढाइएको छ भने दाहालको जिम्मेवारीबाट अनुसन्धान विज्ञको भूमिका हटाइएको छ। सहसचिवसरहको सूचना प्रविधि विज्ञका रूपमा काम गरिरहेका माधव खनाललाई सचिवालयको सूचीबाट हटाइएको छ।

उपसंयोजकको जिम्मेवारी पाउनेमा नागरिक उड्डयन समन्वयमा सुमन गौतम, सामाजिक विकास समन्वयमा रविकिरण अधिकारी, स्वास्थ्य समन्वयमा प्रकृति ढकाल, संस्कृति तथा सम्पदा समन्वयमा विनय शाक्य र नीति मस्यौदा अध्ययनमा दीपकप्रसाद ओली छन्।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीले पदभार ग्रहण गरेयताको कार्यसम्पादनका आधारमा केही सदस्यको बढुवा र जिम्मेवारी हेरफेर गरेका हुन्।

सचिवालयका माथिल्लो तहका सल्लाहकारहरू भने यथावत् छन्। मन्त्रीसरहका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन), राजनीतिक सल्लाहकार असिम शाह र अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवालले आ–आफ्नो जिम्मेवारी सम्हालिरहनेछन्। राज्यमन्त्रीसरहका सल्लाहकार सुदीप ढकाल (नीति, प्रशासन तथा सुशासन) र विवेक मिश्र (सूचना तथा सञ्चार प्रविधि) तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी पनि यथावत् छन्।

अधिकृतसरहको जिम्मेवारीमा प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं, ग्राफिक्स डिजाइनर रोशन तामाङ, मिडिया व्यवस्थापनमा बेदानन्द जोशी र कृषि क्षेत्र समन्वयमा हेमनारायण चौधरी कार्यरत छन्। नायब सुब्बासरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की छन्।

कार्यविधिले सचिवालयमा ४८ जनासम्म नियुक्त गर्न सक्ने व्यवस्था गरे पनि अहिले २६ जना मात्र कार्यरत छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button