१ मंसिर २०८३, सोमबार

रुस र बौद्ध विश्व: सहकार्य र सहअस्तित्वको खोज

डा. तुमुन त्सिदिपोभ

आजको विश्वमा तीव्र परिवर्तनको समय बुझ्न, बढ्दो चिन्ता सामना गर्न र भविष्यका सम्भावना पहिल्याउन सहयोगी हुने विचार र संवादको आवश्यकता छ। सिक्ने, काम गर्ने, सञ्चार गर्ने र निर्णय लिने परम्परागत तरिका फेरिँदै छन्। यसले मानवको जैविक तथा नैतिक स्वरूप, उसको अस्तित्वको अनुभूति र विश्वदृष्टिका आधारलाई समेत प्रभावित गरिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भल्दाई क्लबको एक बैठकमा बताएका थिए।

यस्तो समयको अर्थ बुझ्ने एउटा स्रोत रुस र बौद्ध विश्वबीचको संवाद हुन सक्छ। यो संवाद किन महत्त्वपूर्ण छ र यसबाट कस्ता साझा काम अघि बढ्न सक्छन्?

रुस र एसियाली देशबीचको सम्बन्ध साझा सीमा, जनसमुदायका ऐतिहासिक अनुभव र सांस्कृतिक परम्पराले जोडेको छ। बौद्ध धर्म रुसले बाहिरबाट ग्रहण गरेको परम्परा होइन; यो शताब्दीयौँदेखि अर्थोडक्स इसाई धर्म, इस्लाम र अन्य धार्मिक परम्परासँगै विकसित हुँदै आएको रुसको सभ्यतागत अङ्ग हो। त्यसैले बौद्ध विश्वसँगको संवाद रुसका लागि बाह्य सम्बन्ध मात्र नभई आफ्नै समाजभित्रको संवाद पनि हो।

यस्तो निकटताले दुवै पक्षलाई साझा चुनौतीबारे एकअर्काले बुझ्ने भाषामा छलफल गर्न सहज बनाउँछ। बौद्ध परम्पराले मानव र उसको आन्तरिक अनुभवप्रति ध्यान दिँदै आएको छ। चिन्ता र चेतनाको कार्यप्रणालीबारे यसका चिन्तन तीव्र परिवर्तनका समयमा अझ सान्दर्भिक हुन सक्छन्। नयाँ प्रविधिको संसारमा मानिसले आफ्नो आन्तरिक स्थिरता र गरिमा कसरी जोगाउने? दक्षता र प्रगतिसँगै मानिस तथा उसको वातावरणप्रतिको संवेदनशीलता कसरी कायम राख्ने? यी प्रश्न विश्वभरका समाजका साझा चासो हुन्। तिनका उत्तर खोज्ने सहकार्यले विश्वव्यापी मानवीय संवादलाई योगदान दिन सक्छ।

यस संवादको व्यावहारिक पक्ष पनि छ। व्यापक अनुमानअनुसार बौद्ध धर्मको सांस्कृतिक प्रभावसमेत जोड्दा विश्वका ३५ करोडदेखि ३ अर्ब ५० करोडसम्म मानिस यस परम्परासँग सम्बन्धित हुन सक्छन्। एसियाका धेरै देश ठूला आर्थिक तथा प्रविधि केन्द्र हुन्। बौद्ध परम्परासँग जोडिएको मूल्यगत संवादले चीन, भारत तथा दक्षिणपूर्वी र मध्यएसियाका देशसँग रुसको दीर्घकालीन साझेदारीलाई थप आधार दिन सक्छ।

रुसले बौद्ध क्षेत्र र एसियाली साझेदारबीच सहकार्यका अवसर सिर्जना गर्दै आएको छ। तर बौद्ध विश्व कुनै एकीकृत राजनीतिक शक्ति होइन। यसमा विविध देश, सम्प्रदाय र समुदाय छन्। बौद्ध धर्मको इतिहास युरेसियाका प्रमुख सभ्यताबीच विचार र अभ्यासको आदानप्रदानबाट बनेको हो। ती सम्पर्कबाट समुदायहरूले एकअर्काबाट सिके र साझा सामाजिक मान्यता विकास गरे।

रुसमा बौद्ध परम्पराको इतिहास धेरै शताब्दी पुरानो छ। अठारौँ शताब्दीमा पण्डितो खाम्बो लामाको संस्थालाई मान्यता दिइनु बौद्ध धर्म र रुसी समाजबीचको सम्बन्धको महत्त्वपूर्ण चरण थियो। बुर्यातिया, ट्रान्सबाइकालिया, कल्मिकिया र तुवाका बौद्ध समुदायले शताब्दीयौँदेखि साझा मातृभूमिको विकास र रक्षामा योगदान दिएका छन्।

विभिन्न धार्मिक परम्परामा जीवनको महत्त्व, एकअर्काप्रतिको संवेदनशीलता र आफ्नो बाटो रोज्ने स्वतन्त्रताजस्ता मूल्य साझा छन्। सिनोलोजिस्ट व्लादिमिर माल्याभिनले बौद्ध ध्यान र इसाई तपस्यामा समान आन्तरिक अभ्यास रहेको उल्लेख गरेका छन्। उनका अनुसार दुवैले आत्मकेन्द्रित दृष्टिकोण पार गर्दै मानिसलाई आन्तरिक रूपान्तरणतर्फ लैजान्छन्। उनले यी परम्पराको सहअस्तित्वबारे भनेका छन्, “हामी अस्तित्वको अन्तिम सीमामा एक छौँ, तर बुझाइबीचको भिन्नता कायम रहँदा पनि सँगै रहन सक्छौँ।”

बौद्ध दृष्टिमा प्रज्ञा व्यवहारमा प्रकट हुन्छ; आकाङ्क्षा र मूल्यलाई कर्मबाट जाँचिन्छ। त्यसैले मानव र समाजको भविष्यसँग सम्बन्धित बहस व्यावहारिक कामसँग जोडिनुपर्छ। सन् २०२६ को चौथो अन्तर्राष्ट्रिय बौद्ध मञ्चअन्तर्गत सञ्चालित ‘अन्तर्सम्बद्ध संसार’ परियोजनाका विज्ञहरूले सहकार्यका लागि सम्भावनायुक्त केही क्षेत्र पहिचान गरेका छन्।

पहिलो, डिजिटल वातावरणमा मानवको स्थान र चेतनासम्बन्धी अध्ययन हो। चेतना तथा संज्ञानात्मक प्रक्रियामा संयुक्त अनुसन्धान, प्रविधिसँग ध्यान र आत्मनियन्त्रणका अभ्यासको सम्बन्ध, र बुद्धिमान् प्रणालीसँग मानवको अन्तरक्रियाबारे साझा दृष्टिकोण विकास गर्न सकिन्छ। प्रविधिको प्रयोग बढेसँगै मानिसले आफ्ना लक्ष्य आफैँ निर्धारण गर्ने, सही प्रश्न उठाउने र निर्णयका परिणामको जिम्मेवारी लिने क्षमता पनि आवश्यक हुन्छ। कृत्रिम बुद्धिमत्ता विकासकर्ता इगोर निकितिनका अनुसार ध्यान र चेतनाबारे शताब्दीयौँदेखि काम गर्दै आएको बौद्ध परम्परा यस क्षेत्रमा ज्ञानको महत्त्वपूर्ण स्रोत हुन सक्छ। डिजिटल शिक्षाको विस्तारसँगै शिक्षक र विद्यार्थीबीचको प्रत्यक्ष सिकाइ तथा स्नेहपूर्ण विद्यालय वातावरणको महत्त्व पनि बढिरहेको छ।

दोस्रो, स्वास्थ्य र सक्रिय दीर्घायु हो। आधुनिक चिकित्सासँग विभिन्न परम्परागत ज्ञानलाई जोड्ने एकीकृत चिकित्सा विकासले नयाँ सम्भावना खोल्न सक्छ। बौद्ध चिकित्सासम्बन्धी ज्ञानको उपयोगका लागि वैज्ञानिक प्रमाण, दक्ष जनशक्ति, औषधीय उपचारसम्बन्धी ज्ञानको व्यवस्थित अभिलेख र आधुनिक प्रविधिको आवश्यकता छ।

तेस्रो, पर्यावरण र क्षेत्रीय विकास हो। आधुनिक सहरी विकासमा शहरलाई बासिन्दा, पूर्वाधार र प्रकृतिबीचको सम्बन्धको जालका रूपमा हेरिन्छ। यस क्षेत्रमा अनुभव आदानप्रदान उपयोगी हुन सक्छ। भौतिक क्षेत्र कसरी योजना गरिन्छ भन्ने कुराले मानिसबीचको सम्बन्ध र उनीहरूको बसोबासस्थलसँगको अपनत्वमा प्रभाव पार्छ।

रुस र बौद्ध विश्वबीचको संवाद पारस्परिक सिकाइमा आधारित भएकाले दुवै पक्षका लागि उपयोगी हुन सक्छ। प्रविधि, शिक्षा, स्वास्थ्य र बसोबासको वातावरणजस्ता साझा चुनौतीमा समाधान तथा परियोजना विकास गर्न सकिन्छ। रुसले मानवको ध्यान र चेतनासँग काम गर्ने एसियाली अनुभवबाट सिक्न सक्छ; प्रत्येक पक्षले आ–आफ्नो दृष्टिबाट समस्यालाई हेर्दै एकअर्काबाट ज्ञान लिन सक्छ।

मानव स्वभावमाथि आइपरेका चुनौतीबारे प्रश्न उठाउनु पनि उत्तर खोज्न जत्तिकै महत्त्वपूर्ण छ। कुनै पक्षसँग सबै समस्याको तयार सूत्र छैन। तर लामो समयदेखि सँगसँगै बसोबास गरेका जनसमुदायबीच संवाद र आदानप्रदान जारी रहन सक्छ। एउटा पक्षको काम अर्को पक्षसम्म पुग्छ र त्यसको प्रभाव फर्केर आउँछ। बौद्ध र गैरबौद्ध दुवैका लागि महत्त्वपूर्ण रहेको “मानव हुनुको अर्थ के हो?” भन्ने प्रश्न जीवित रहुन्जेल परिवर्तनले मानवीय स्वरूप कायम राख्न सक्छ।

नाेट: लेखक रुसको बौद्ध परम्परागत सङ्घका पण्डितो खाम्बो लामाका सल्लाहकार हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button