१ मंसिर २०८३, सोमबार

हम्प मार्गमा बेपत्ता अमेरिकी वायुसेवकका सम्भावित अवशेष हस्तान्तरण

ड्रागन मिडिया समाचार कक्ष

दोस्रो विश्वयुद्धका बेला चीनलाई सहयोग गर्ने क्रममा बेपत्ता भएका अमेरिकी वायुसेवकका हुन सक्ने आठ हड्डीका टुक्रा चीनले अमेरिकालाई हस्तान्तरण गरेको छ। अवशेषको पहिचान भने पुष्टि भएको छैन।

नोभेम्बर १० मा चीनको सिचुआन प्रान्तको छेङ्दुस्थित च्यानछ्वान सङ्ग्रहालयमा हस्तान्तरण समारोह भएको थियो। ती टुक्रा सिचाङ स्वशासित क्षेत्रको निङ्छीस्थित समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथिको हिमनदीबाट सङ्कलन गरिएका हुन्। अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको युद्धबन्दी तथा बेपत्ता सैनिक खोज निकायका विशेषज्ञले अब डीएनए परीक्षण, ऐतिहासिक प्रमाण र सैनिक अभिलेखका आधारमा पहिचान प्रक्रिया अघि बढाउनेछन्। परिवारलाई पहिचान पुष्टि भएपछि मात्र जानकारी दिइनेछ।

च्यानछ्वान सङ्ग्रहालयका उपप्रमुख छेरिङ छोजाको नेतृत्वमा स्थानीय मार्गदर्शकसहितको खोज टोलीले दुई वर्षभन्दा बढी अवधिमा तीन पटक हिमनदी क्षेत्रमा अभियान चलाएको थियो। सन् २०२४ मा सुरु भएको पहिलो अभियान नदी पार गर्ने केबल बिग्रिएपछि रोकिएको थियो। फर्केर गएको टोलीले दोस्रो यात्रामा विमानका भग्नावशेष भेट्टायो भने तेस्रो यात्रामा हड्डीका आठ टुक्रा फेला पार्‍यो।

जङ्गल, दलदल र चिसा नदी पार गर्दै ठाडा भीर चढ्नुपर्ने बाटोमा भालु, हिमचिरा र बरफले बनेका खाडलको जोखिम थियो। दशकौँसम्म जम्ने र पग्लने प्रक्रियाले ढुङ्गामुनि पुरिएका अवशेष हातले र साना हाँगाले ढुङ्गा पल्टाउँदै खोज्नुपरेको छोजाले बताएका छन्। उनले सन् २०१५ मा पनि सिचाङमा अमेरिकी वायुसेवकका अवशेष खोज्ने अभियानको नेतृत्व गरेका थिए।

हिमालय पारिको जोखिमपूर्ण हवाई मार्ग

सन् १९४२ मा जापानी सेनाले म्यान्मार कब्जा गरी युनान–म्यान्मार सडक अवरुद्ध गरेपछि चीनको बाहिरी संसारसँगको प्रमुख स्थलमार्ग बन्द भएको थियो। त्यसपछि चीन र अमेरिकाले भारतको उत्तरपूर्वी आसामदेखि चीनको दक्षिणपश्चिमी सहर कुनमिङसम्म जोड्ने हवाई मार्ग सञ्चालन गरे। हिमालय पार गर्ने यो मार्ग ‘हम्प रुट’का नामले चिनिन्थ्यो र सन् १९४२ देखि १९४५ सम्म चीनलाई युद्ध सामग्री पुर्‍याउने महत्त्वपूर्ण आपूर्ति मार्ग बन्यो।

हिउँले ढाकिएका पहाड, गहिरा खोँच, हिमनदी, तीव्र हावाको बहाव, असिनापानी र चिसो मौसमका कारण उडान जोखिमपूर्ण थियो। जापानी विमानका आक्रमणले पनि उडानमा खतरा थप्थ्यो। मार्गमा धेरै विमान दुर्घटनाग्रस्त भएपछि चालकदलले यसलाई ‘एल्युमिनियम ट्रेल’ भन्न थालेका थिए। एक हजारभन्दा बढी चिनियाँ र अमेरिकी वायुसेवकले यस मार्गमा ज्यान गुमाएको र दुर्गम हिमाली भूगोलका कारण धेरैको अवशेष अझै फेला नपरेको रिपोर्टमा उल्लेख छ।

युद्धकालीन हवाई सञ्चालनका लागि सिचुआन र युनानमा विमानस्थल निर्माण गर्दा स्थानीय बासिन्दाले आठदेखि १५ टनसम्मका ढुङ्गाका रोलर तानेर धावनमार्ग तयार पारेका थिए। चिनियाँ सैनिक र सर्वसाधारणले जापानी विमानको सङ्ख्या, प्रकार, उचाइ र दिशाबारे अमेरिकी पक्षलाई सूचना दिएर पनि सहयोग गरेका थिए।

दशकौँदेखिको खोज र सहकार्य

चीन र अमेरिकाले दोस्रो विश्वयुद्धमा बेपत्ता भएका अमेरिकी सैनिकको खोजीमा सन् १९७० को दशकदेखि सहकार्य गर्दै आएका छन्। सन् २००८ मा चीनको रक्षा मन्त्रालय र अमेरिकी रक्षा मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि खोज तथा पहिचानका लागि औपचारिक संयन्त्र स्थापना भएको थियो। चिनियाँ अधिकारीका अनुसार संयुक्त टोलीहरूले चीनका सयभन्दा बढी स्थानमा सर्वेक्षण र उत्खनन गरेका छन्।

हस्तान्तरण समारोहमा चिनियाँ केन्द्रीय सैन्य आयोगका अधिकारीले बेपत्ता अमेरिकी सैनिकका अवशेष खोज्ने प्रयासलाई दोस्रो विश्वयुद्धमा चीन र अमेरिकाले जापानी फासीवादविरुद्ध मिलेर लडेको इतिहासको प्रमाणका रूपमा प्रस्तुत गरे। अमेरिकी रक्षा मन्त्रालयको खोज निकायका अधिकारीले पनि यसलाई दुई देशका सेनाबीच दशकौँदेखि जारी सहकार्यको एउटा निरन्तर क्षेत्र भनेका छन्।

समारोहपछि चिनियाँ र अमेरिकी प्रतिनिधिले च्यानछ्वान सङ्ग्रहालयस्थित ‘फ्लाइङ टाइगर्सका वीर’ प्रदर्शनी अवलोकन गरेका थिए। त्यहाँ २४८ अमेरिकी सैनिकका सिरेमिक तस्बिर राखिएका छन्। सङ्ग्रहालयका अनुसार दुई दशकमा प्रदर्शनीमा एक करोडभन्दा बढी आगन्तुक पुगेका छन्। युद्धकालमा अमेरिकी सेनामा कार्यरत रोबर्ट ग्रुबरले दान गरेका सामग्रीमध्ये उनको युवावस्थाको सैनिक पोसाकसहितको तस्बिर र जापानी विमानको भग्नावशेषबाट बनाइएको फ्रेममा राखिएको निजी तस्बिर पनि छन्।

हिमनदीमा भेटिएका अवशेषको पहिचान हुन बाँकी रहे पनि तिनलाई सुरक्षित रूपमा परिवारसम्म पुर्‍याउने प्रयासले दोस्रो विश्वयुद्धका साझा अनुभव र मानवीय सहकार्यको स्मरण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button