१ मंसिर २०८३, सोमबार

मस्को सम्मेलनमा प्रचण्डको जोड: आर्थिक लोकतन्त्र र प्रविधिगत सार्वभौमिकता

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसको मस्कोमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन्। विभिन्न देशका राजनीतिक दल, राष्ट्रिय मुक्ति आन्दोलन र प्रगतिशील सङ्गठनका प्रतिनिधि सहभागी सम्मेलनमा उनले नेपाली जनताको तर्फबाट शुभकामना र ऐक्यबद्धता व्यक्त गरे।

सम्बोधनमा प्रचण्डले राजनीतिक स्वतन्त्रताले मात्रै आर्थिक स्वतन्त्रता सुनिश्चित नहुने बताए। ऋणमा निर्भरता, आर्थिक प्रतिबन्ध, प्रविधिमाथिको एकाधिकार र रणनीतिक आपूर्ति शृङ्खलामाथिको नियन्त्रणमार्फत नवऔपनिवेशिक प्रभाव विस्तार भइरहेको उनको भनाइ थियो। राष्ट्रिय स्वतन्त्रताको सङ्घर्ष अझै पूरा नभएको उल्लेख गर्दै उनले आर्थिक लोकतन्त्र, प्रविधिगत सार्वभौमिकता र प्राकृतिक स्रोतमाथि राष्ट्रिय नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताए।

विश्व व्यवस्था एकध्रुवीयताबाट बहुध्रुवीयतातर्फ अघि बढिरहेको भन्दै उनले नयाँ व्यवस्था सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित हुनुपर्ने धारणा राखे। एउटा वर्चस्वकारी संरचनाको ठाउँमा अर्को संरचना स्थापना गर्नु बहुध्रुवीयताको उद्देश्य हुन नहुने उनको भनाइ थियो।

संयुक्त राष्ट्रसंघका सिद्धान्त शक्तिशाली राष्ट्रहरूले स्वार्थअनुसार छानेर लागू गर्ने गरेको आरोप लगाउँदै प्रचण्डले अन्तर्राष्ट्रिय कानुन सबै देशका लागि समान रूपमा लागू हुनुपर्ने बताए। संयुक्त राष्ट्रसंघलाई अझ लोकतान्त्रिक र प्रभावकारी बनाउन तथा सुरक्षा परिषद् सुधार गर्नुपर्नेमा जोड दिँदै उनले युद्ध तत्काल रोकेर वार्ता र कूटनीतिबाट समाधान खोज्न आग्रह गरे।

नेपालको माओवादी जनयुद्धबारे चर्चा गर्दै प्रचण्डले त्यसले सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय, लोकतान्त्रिक र समावेशी गणतन्त्र स्थापनाको बाटो खोलेको बताए। मजदुर, किसान, महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको राजनीतिक सहभागिता विस्तार भएको उल्लेख गर्दै उनले आर्थिक समानता, सामाजिक न्याय र राष्ट्रिय स्वतन्त्रतासम्बन्धी आकाङ्क्षा अझै पूरा हुन बाँकी रहेको बताए।

नेपाली कम्युनिस्ट पार्टी मार्क्सवाद–लेनिनवाद र ‘नेपाली विशेषतासहितको समाजवाद’प्रति प्रतिबद्ध रहेको बताउँदै उनले कम्युनिस्ट, समाजवादी, साम्राज्यवादविरोधी र प्रगतिशील शक्तिबीच साझा सिद्धान्त तथा वैचारिक स्पष्टतामा आधारित एकता आवश्यक रहेको धारणा राखे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button