१७ आश्विन २०८३, शनिबार

काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा ५२ प्रतिशत कालोपत्र

ड्रागन मिडिया सम्वाददाता

एसियाली राजमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ। ठेक्का सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।

आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक करिब ७०० देखि ८०० मिटर सडक कालोपत्र भइरहेको छ। पुल निर्माणको प्रगति भने ३१ प्रतिशत छ। पूर्वी खण्डमा २१ वटा पुल निर्माणाधीन छन्। निन्दा, बिरिङ र कन्काई नदीमा ३०० मिटरभन्दा लामा पुल बनाउने काम जारी छ।

अधिकांश साना कल्भर्ट निर्माण सम्पन्न भएका छन्। बाँकी सडक स्तरोन्नति, पुल र ओभरपास निर्माणलाई एकैसाथ अघि बढाइएको आयोजनाले जनाएको छ। पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास बनाउने योजना छ। चारआलीको जंगल क्षेत्रमा हात्तीका लागि अन्डरपास र पैदलयात्रीका लागि छवटा क्रसिङ निर्माण गरिनेछ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको आयोजनाअन्तर्गत काँकरभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button