प्रेस स्वतन्त्रता र श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले आन्दोलन घोषणा

ड्रागन मिडिया सम्वाददाता
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको संरक्षणको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारको व्यवहार प्रेस स्वतन्त्रताप्रति अनुदार रहेको आरोप लगाइएको छ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउनेमाथि कारबाही नभएको विषयलाई आन्दोलनका कारणका रूपमा उल्लेख गरेको छ।
गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको महासंघको भनाइ छ। प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उक्त रकम दिनुपर्ने माग पनि महासंघले अघि सारेको छ।
महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई पत्र पठाइनेछ। मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)सँग छलफल तथा मंसिर ७ गते जिल्ला शाखाहरूले सञ्चारसम्बद्ध संघसंस्थासँग परामर्श गर्ने कार्यक्रम छ।
मंसिर ९ गते देशभरका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालयमा भेला भएर ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गर्ने महासंघले जनाएको छ। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि महासंघले दिएको छ।





