नेपाल फर्कने तयारीमा रहेका भोजपुरका युवक दक्षिण कोरियामा मृत भेटिए

ड्रागन मिडिया सम्वाददाता
रोजगारीका लागि दक्षिण कोरिया पुगेका भोजपुरको हतुवागढी गाउँपालिका–५ का २९ वर्षीय मिकाक राई मृत भेटिएका छन्। उनी अक्टोबर ८ मा नेपाल फर्कने तयारीमा थिए।
रोजगार अनुमति प्रणालीमार्फत चार वर्ष १० महिनाअघि कोरिया पुगेका राई मोक्पोमा कार्यरत थिए। रातिको काम सकेर कोठामा फर्किएपछि वातानुकूलन यन्त्र चलाएर झ्यालढोका बन्द गरी सुतेको उनका सहकर्मीले बताएका छन्। भोलिपल्ट काममा नआएपछि कोठामा पुगेका सहकर्मीले उनलाई मृत अवस्थामा फेला पारेका थिए।
राईको मृत्युको कारण खुलिसकेको छैन। शव परीक्षणपछि मात्रै कारण पुष्टि हुने जनाइएको छ। सहकर्मीका अनुसार केही महिनाअघि उनको अनुहारमा पक्षाघात भएको थियो र उनी औषधि सेवन गरिरहेका थिए। उक्त स्वास्थ्य समस्यासँग मृत्युको सम्बन्ध रहेको पुष्टि भएको छैन।
पहिलो कार्यकाल पूरा गरेका राई पुनः रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा थिए। त्यसका लागि उनले कम्पनीबाट आवश्यक कागजातसमेत मिलाइसकेको बताइएको छ।





