बर्दिया अस्पतालमा सघन उपचार कक्ष र विशेषज्ञ चिकित्सक अभाव, गम्भीर बिरामी अन्यत्र रेफर

ड्रागन मिडिया सम्वाददाता
बर्दिया अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र सघन उपचार कक्षको सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई नेपालगन्ज र कोहलपुरका अस्पतालमा पठाउनुपर्ने बाध्यता छ। दैनिक औसत २५० बिरामी आउने ५० शय्याको अस्पतालमा अधिकांश चिकित्सक दरबन्दी रिक्त रहेको अस्पतालले जनाएको छ।
अक्सिजनको मात्रा कम भएपछि भदौ १७ गते अस्पताल ल्याइएका मधुवन नगरपालिका–४ का एक बिरामीलाई सघन उपचार कक्ष आवश्यक परे पनि सुविधा नहुँदा भेरी अस्पताल, नेपालगन्ज पठाइएको उनका छोरा मस्तराम चौधरीले बताए। गत असारमा मिर्गौलासम्बन्धी समस्या लिएर आएका राजापुर नगरपालिका–५ का सूर्यलाल चौधरीलाई पनि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको उनका नाति मनोज चौधरीले जानकारी दिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेका अनुसार दरबन्दीअनुसार चिकित्सक नहुँदा गम्भीर बिरामीको उपचारमा कठिनाइ भइरहेको छ। सघन उपचार कक्ष सञ्चालन गर्न स्त्रीरोग विशेषज्ञ, फिजिसियन र बेहोस बनाउने चिकित्सक एक–एक जना, मेडिकल अधिकृत चार जना, नर्स आठ जना र कार्यालय सहयोगी चार जना आवश्यक रहेको उनले बताए।
बर्दिया क्षेत्र नं. १ का सांसद ठाकुरसिंह थारूले अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र सघन उपचार कक्षको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा निवेदन दिएका छन्। स्थानीय समाजसेवी सोमाई थारूले जटिल अवस्थाका बिरामीलाई टाढाका अस्पताल लैजाँदा बाटोमै ज्यान गुमाउने जोखिम रहेको भन्दै अस्पतालको जनशक्ति र उपचार सुविधा विस्तार गर्न माग गरेका छन्।





