मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

ड्रागन मिडिया सम्वाददाता
वर्षा रोकिएर मौसम खुलेपछि र बाढीपहिरोले अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्या बढेको छ। छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक आधार शिविर पुगिरहेका छन्।
आधार शिविर क्षेत्रमा रहेका छ होटल तथा आवासगृहमा एकैपटक ३५० जनासम्म राख्न सकिने क्षमता छ। गुरुङका अनुसार हाल विदेशी र दक्षिण एसियाली मुलुकका पर्यटकको आगमन बढेको छ। मनाङ र मनास्लु क्षेत्रका केही मार्ग पहिरोका कारण प्रभावित भएपछि पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा अन्नपूर्ण आधार शिविर रोज्न थालेका छन्। दसैँपछि नेपाली पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उनले बताए।
बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले अवरुद्ध सडक गाउँपालिकाले असोज पहिलो साता खुलाएको हो। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरा–घान्द्रुक–अन्नपूर्ण आधार शिविरतर्फका सडक खुलेका छन्। केही स्थानमा अस्थायी व्यवस्था गरेर पदमार्ग पनि सञ्चालनमा ल्याइएको छ। किम्रुङ खोलाको बाढीले झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको बाटोमा काठे फड्के बनाएर आवागमन खुलाइएको छ।
समुद्री सतहदेखि करिब ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पदयात्राका क्रममा गुरुङ समुदायको संस्कृति, हिमाली बस्ती, वन, झरना र स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्न पाइने भएकाले यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ।
पर्यटक र स्थानीयलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा प्राथमिक उपचार दिन माछापुच्छ्रे आधार शिविरमा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। उच्च उचाइमा बिरामी पर्ने र लेक लाग्ने जोखिम रहने भएकाले पदयात्रा मार्गमा स्वास्थ्य सेवा उपलब्ध हुनु पर्यटकको सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको छ।





