सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

ड्रागन मिडिया सम्वाददाता
बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार सोमबार बिहान करिब ७:३० बजे काप्रा–बोहरागाउँ–छापाखानी–प्युठान सडकखण्डमा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको हो।
ढिस्कोमा पुरिएका रोल्पाका कृष्ण घर्तीमगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी बुर्तिबाङस्थित प्रदेश अस्पतालमा उपचारका लागि लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले बताए।
चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसीबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।





