काला सागरमा तेलवाहक ट्याङ्करमाथि मानवरहित जलयानबाट आक्रमण

ड्रागन मिडिया समाचार कक्ष
लाइबेरियाको झण्डा फहराएको तेलवाहक ट्याङ्करमाथि काला सागरमा मानवरहित जलयानबाट आक्रमण भएको रुसी यातायात मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ‘रियो’ नामको अफ्राम्याक्स ट्याङ्कर आक्रमणमा परेको हो। ट्याङ्करका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ।
आक्रमणपछि ट्याङ्करमा लागेको आगो निभाउने काम आगोको तीव्रता घटेपछि शुरु गरिने मन्त्रालयले बताएको छ। आगो नियन्त्रण र घटनापछिको व्यवस्थापनका लागि उपलब्ध जनशक्ति तथा साधन पर्याप्त रहेको मन्त्रालयको भनाइ छ।
रुसी यातायातमन्त्री आन्द्रेई निकितिनको नेतृत्वमा घटनाको प्रभाव व्यवस्थापन गर्न गठित मुख्यालयको बैठक बसेको मन्त्रालयले जनाएको छ।





