२१ आश्विन २०८३, बुधबार

म्यान्मारको ठगी सञ्जालमा अनुष्ठानका नाममा हत्या, पीडितको खप्परमा सात गोलीका प्वाल

ड्रागन मिडिया समाचार कक्ष

उत्तरी म्यान्मारमा दूरसञ्चार माध्यमबाट ठगी गर्ने समूहसँग जोडिएको वेई परिवारले सशस्त्र समूह परिचालन गरी ठगी केन्द्रहरूमा हिंसात्मक नियन्त्रण कायम गरेको र अनुष्ठानका नाममा सर्वसाधारणको हत्या गरेको चिनियाँ वृत्तचित्रले खुलासा गरेको छ। वृत्तचित्रमा एक पीडितको खप्परमा सातवटा गोलीका प्वाल भेटिएको विवरण पनि समेटिएको छ।

‘म्यान्मारस्थित दूरसञ्चार ठगीको अन्त्य’ नामक तीन भागको वृत्तचित्रको दोस्रो भागले उत्तरी म्यान्मारमा सक्रिय अपराधी समूहविरुद्ध चीनले गरेको कारबाही र फरार अभियुक्तको खोजीलाई समेटेको छ। चिनियाँ अधिकारीहरूले क्षेत्राधिकार र कानुन कार्यान्वयनका अवरोध पार गर्दै ‘चार प्रमुख परिवार’सहितका अपराधी समूहविरुद्ध कारबाही गरेको वृत्तचित्रमा उल्लेख छ।

वृत्तचित्रका अनुसार वेई परिवारले करिब १५ वर्षअघि उत्तरी म्यान्मारमा राजनीतिक र सैन्य प्रभाव तीव्र रूपमा विस्तार गरेको थियो। परिवारका वेई चाओरेन म्यान्मारको सङ्घीय संसद्का सदस्य थिए भने उनका भाइ वेई हुआइरेनले सैन्य शक्ति सम्हालेका थिए। सीमा सुरक्षा गर्ने जिम्मेवारीका नाममा सरकारी तलब पाए पनि परिवारले राज्यका संयन्त्र आफ्नो हितमा प्रयोग गरेको र सीमा सुरक्षा बल तथा निजी सशस्त्र समूह परिचालन गरी ठगी केन्द्रहरूमा नियन्त्रण जमाएको वृत्तचित्रमा जनाइएको छ।

कोकाङ क्षेत्रमा सशस्त्र समूहमा परिवारको नियन्त्रण कायम राख्न वेई हुआइरेनले आफ्ना भतिजा चेन दावेईलाई परिवारको दोस्रो पुस्ताका प्रमुख सदस्यका रूपमा अघि सारेका थिए। चेनले ठगी केन्द्रका लगानीकर्तासँग सम्बन्ध बलियो बनाउन उनीहरूसँग धर्मभाइको सम्बन्ध गाँस्न खोजेको वृत्तचित्रमा उल्लेख छ।

धर्मभाइको समारोहलाई गम्भीर देखाउन र आफ्नो निष्ठा प्रमाणित गर्न चेनले मातहतका व्यक्तिलाई एक अपरिचित व्यक्तिलाई अनियमित रूपमा छानेर अनुष्ठानमा बलि दिन आदेश दिएको बताइएको छ। ठगी केन्द्रका नियम पालना गर्न अस्वीकार गरेको भन्दै एक्लै थुनिएको व्यक्तिलाई त्यसका लागि छानिएको वृत्तचित्रमा उल्लेख छ।

सन् २०२२ को उत्तरार्धमा चेनले अर्को परिवारद्वारा सञ्चालित ठगी केन्द्रका एक लगानीकर्तासँगको पुरानो विवादका कारण उनका कर्मचारीलाई सडकबाट अपहरण गरी थुन्न आदेश दिएको पनि वृत्तचित्रमा जनाइएको छ। करिब एक महिनापछि, झुक्न वा कमजोर देखिन अस्वीकार गरेका ती कर्मचारीलाई चेनले मृत्युदण्ड दिने ठाउँमा लैजान आदेश दिएको बताइएको छ।

छ्वानचौको नानआन नगर सार्वजनिक सुरक्षा ब्युरोको अपराध अनुसन्धान टोलीका प्रमुख हुआङ युआनफङका अनुसार पीडित घुँडा टेकेर घोप्टो परेको अवस्थामा भेटिएका थिए। उनका हात पछाडि बाँधिएका थिए र खप्परमा सातवटा गोलीका प्वाल थिए। वृत्तचित्रमा उनले पीडितलाई गोलीको वर्षा गरेर मारिएको देखिएको बताएका छन्।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र चाइना मिडिया ग्रुपले संयुक्त रूपमा निर्माण गरेको तीन भागको वृत्तचित्र चीनको केन्द्रीय टेलिभिजनमा सोमबारदेखि बुधबारसम्म प्रसारण हुने जनाइएको छ। यसले म्यान्मारमा सञ्चालित साइबर ठगी सञ्जालको हिंसात्मक गतिविधि र सीमापार ठगीविरुद्ध चीनले गरेको कारबाही प्रस्तुत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button