सरकारी रकमबाट ट्रम्पका प्रचारात्मक विज्ञापन, खर्च फिर्ताबारे प्रतिबद्धता छैन

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी गृह सुरक्षा विभागबाट छुट्याइएको रकम प्रयोग गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्ने विज्ञापन प्रसारण गरिएको विषयमा विवाद भएको छ। विज्ञापन प्रसारणका लागि २ करोड डलरको सम्झौता गरिएकोमा करिब १ करोड २० लाख डलर खर्च भइसकेको छ।
ट्रम्पले अबका विज्ञापन आफ्नै राजनीतिक अभियानसँग सम्बन्धित संस्था ‘मागा इन्क’को रकमबाट चलाउने बताएका छन्। तर खर्च भइसकेको सरकारी रकम फिर्ता गर्ने वा नगर्नेबारे उनले प्रतिबद्धता जनाएका छैनन्।
सिनेटका अल्पमत नेता चक शुमरले यसलाई करदाताको रकमको दुरुपयोग भन्दै अनुसन्धान गर्न माग गरेका छन्। दुवै दलका नेताले राजनीतिक प्रचारजस्ता देखिने विज्ञापनमा सरकारी रकम खर्च गर्न नहुने बताएका छन्। कानुनविद्हरूले पनि यस्तो खर्चले संघीय कानुन उल्लङ्घन गरेको हुन सक्ने बताएका छन्।





