२१ आश्विन २०८३, बुधबार

बाढीपहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुलाउन तीव्रता, ठूला सवारी चलाउने तयारी

ड्रागन मिडिया सम्वाददाता

बाढीपहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खुलाउन मर्मत तीव्र पारिएको छ। सडकखण्डका ५५ ठाउँमा अवरोध भएकामा अधिकांश स्थानमा प्रारम्भिक मर्मत सकिएको र ठूला सवारी चलाउन सकिने गरी सडक तयार भइरहेको सडक योजनाले जनाएको छ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गादेखि कुनौटासम्म र कोरलादेखि पोखरेबगरस्थित पुलसम्म ठूला सवारी चलाउन सकिने गरी मर्मत गरिएको छ। पोखरेबगर र कुनौटाबीचका रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा वैकल्पिक बाटो बनाउने काम सकिएको छ।

कुनौटामा बाढीले करिब २५० मिटर सडक बगाएको छ भने पोखरेबगरमा पुलको पहुँचमार्ग क्षतिग्रस्त भएको छ। कुनौटामा चारवटा एक्साभेटर र टिपर परिचालन गरी सडकमा माटो भर्ने काम भइरहेको छ। पोखरेबगरमा मजदुर तथा उपकरण परिचालन गरेर ग्याबियन पर्खाल निर्माण भइरहेको छ। आगामी सोमबारसम्म सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको शर्माले बताए।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरिएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए। राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह अगाडि वैकल्पिक सडक बनाउने काम पनि अघि बढाइएको छ। इन्धन अभाव समाधान गर्न नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोग लिइएको तथा इन्धन सापटी गरेर व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ।

सडक पुनर्निर्माणमा करिब तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका जोड्ने सडक छिटो सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। मुस्ताङको स्याउ बजार पठाउने, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा ल्याउने र पर्यटकीय याम शुरु हुने समय नजिकिएकाले सडक छिटो खुलाउन दबाब बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button