पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावले बुधबार देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी तथा कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
हाल हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमको तराई तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि यस्तै वर्षाको सम्भावना छ।
बुधबार राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। तराईमा आंशिक बादल रहने र बिहानतिर कुहिरो लाग्न सक्नेछ। हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





