जबरा–सापकोटा सम्पर्कपछि सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र बिचौलिया इनाम सापकोटाबीचको सम्पर्कबारे अनुसन्धान अघि बढेपछि सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशी राज दाहाल निलम्बित भएका छन्। गृह मन्त्रालयले सुरक्षा संवेदनशील सूचना चुहावट र पदीय आचरणविपरीत कार्यको आरोपमा दाहाललाई निलम्बन गरी तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउन जाँचबुझ अधिकृत तोकेको छ।
जबरालाई सुरक्षा चुनौती रहेको भन्दै करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएको घटनाको अनुसन्धानका क्रममा उनले सापकोटासँग पटकपटक कुराकानी गरेको खुलेको प्रहरीले जनाएको छ। सापकोटाको मोबाइल विवरण जाँच गर्दा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग पनि नियमित सम्पर्क देखिएको एक प्रहरी अधिकारीले बताएका छन्। उनीसँग अधिकारीहरूको सामान्य चिनजान मात्र थियो वा थप सम्बन्ध थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।
सशस्त्र प्रहरी बलको सञ्चालन विभाग प्रमुखसमेत रहेका दाहाल जबरा प्रहरी कार्यालयमा रहेका बेला राति करिब ३ बजे भेट्न गएको र बिहान ५ बजे फर्किएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। उक्त भेटबारे अग्रिम जानकारी नदिएको विषयमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग समेत सोधपुछ गरिएको थियो।
दाहालले स्पष्टीकरणमा पारिवारिक सम्बन्धका आधारमा जबरालाई भेटेको र पदीय आचरणविपरीत कुनै काम नगरेको जिकिर गरेका छन्। तर सापकोटासँग ह्वाट्सएप र सिग्नलमार्फत नियमित संवाद भएको विवरण तथा केही सन्देशका प्रतिलिपि गृह मन्त्रालयमा पुगेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको हो। मन्त्रालयका अनुसार दाहालमाथि लागेको आरोपबारे तीन दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
जबरासँग सम्पर्कमा रहेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक सारिएको छ। भट्टलाई छुटाउन जबरासहितले चलखेल गरेको आरोप प्रधानमन्त्रीको सचिवालयका केही सदस्यले लगाएको प्रहरी अधिकारीहरूको भनाइ छ। सापकोटाले दुई पक्षबीच संवाद गराएको हुन सक्ने आशङ्काबारे पनि अनुसन्धान भइरहेको छ।
सापकोटालाई विशेष ब्युरोले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। अमेरिकाको स्थायी बसोबास अनुमति पाएका उनी केही दिनअघि काठमाडौं आएका थिए र नयाँदिल्ली जाने तयारीमा थिए। विशेष ब्युरोले सोधपुछ गरेपछि उनलाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी आरोपमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट सात दिनको हिरासत अनुमति लिइएको छ।
दाहालनिकट अधिकारीहरूले भने पदावधि थप हुन लागेका बेला अन्य बढुवा आकांक्षीले उनलाई हटाउन चलखेल गरेको आरोप लगाएका छन्। यस दाबीबारे सम्बन्धित अधिकारीहरूको प्रतिक्रिया सार्वजनिक भएको छैन।





