पशुपालन र मत्स्य उत्पादनबाट रोजगारी बढाउने कोट दिभ्वारको लक्ष्य

ड्रागन मिडिया समाचार कक्ष
कोट दिभ्वारका प्रधानमन्त्री रोबर्ट बेउग्रे माम्बेले पशुपालन र मत्स्य उत्पादनलाई आर्थिक वृद्धि, युवा रोजगारी र खाद्य सम्प्रभुताको आधार बनाउने बताएका छन्। शुक्रबार अबिदजानमा पाँचौँ सेलब पशुपालन प्रदर्शनी उद्घाटन गर्दै उनले पशु तथा मत्स्यजन्य वस्तुको उत्पादन र प्रशोधनमा कोट दिभ्वारलाई क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
सिन्ह्वाका अनुसार माम्बेले पशु तथा मत्स्यजन्य खाद्यवस्तु र अन्य प्रोटिनयुक्त उत्पादनबाट वार्षिक ६०० अर्ब सीएफए फ्र्याङ्कभन्दा बढी आम्दानी गर्न सकिने सम्भावना रहेको बताए। उनले व्यवसायीलाई अमेरिका, दक्षिण अफ्रिका र बोत्स्वानाको अनुभवबाट सिक्न आग्रह गर्दै सरकारले स्वदेशी उद्यमलाई सहयोग गर्ने, औद्योगिक साझेदारी विस्तार गर्ने र स्थानीय परिस्थितिअनुकूल व्यवसायका ढाँचा प्रवर्द्धन गर्ने बताए।
पशु तथा मत्स्य स्रोत मन्त्री सिदी तिएमोको तुरेका अनुसार पशु स्रोत क्षेत्रले कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.३ प्रतिशत योगदान दिन्छ। यस क्षेत्रमा सात लाखभन्दा बढी प्रत्यक्ष र २३ लाख अप्रत्यक्ष रोजगारी रहेको उनले बताए। सन् २०२४ मा पशुजन्य खाद्यवस्तु आयातमा २०० अर्ब सीएफए फ्र्याङ्कभन्दा बढी खर्च भएको उल्लेख गर्दै उनले उत्पादनदेखि प्रशोधन र बजारसम्मका काममा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे।
नोभेम्बर २० देखि २२ सम्म अबिदजानको त्रेचभिलस्थित स्पोर्ट्स प्यालेसमा चल्ने प्रदर्शनीसँगै पशुजन्य अर्थतन्त्रमा निजी लगानीबारे उच्चस्तरीय मञ्च पनि आयोजना गरिएको छ। प्रदर्शनीमा अमेरिका सम्मानित अतिथि राष्ट्र छ भने दक्षिण अफ्रिका र बोत्स्वाना आमन्त्रित देश हुन्।





