युक्रेनका ऊर्जा पूर्वाधार र मालवाहक जहाजमा प्रहार गरेको रुसको दाबी

ड्रागन मिडिया समाचार कक्ष
रुसी सेनाले शुक्रबार राति युक्रेनका दुई ऊर्जा प्रतिष्ठान र कृष्ण समुन्द्रमा एउटा मालवाहक जहाजमाथि प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले शनिबार सामाजिक सञ्जाल ‘म्याक्स’मा सार्वजनिक गरेको विवरणलाई उद्धृत गर्दै सिन्ह्वाले उक्त समाचार दिएको हो।
मन्त्रालयका अनुसार प्रहारबाट युक्रेनको द्निप्रोपेत्रोभ्स्क क्षेत्रस्थित क्रिभी रिह तापीय विद्युत केन्द्र र पश्चिमी रिभ्ने क्षेत्रको विद्युत सबस्टेसन प्रभावित भएका छन्। ओदेसानजिक कृष्ण समुन्द्रमा प्रहार गरिएको मालवाहक जहाजले युक्रेनी सेनाका लागि नागरिक तथा सैन्य दुवै प्रयोजनमा प्रयोग हुन सक्ने सामग्री बोकेको मन्त्रालयको दाबी छ। प्रहारबाट भएको क्षतिको विवरण र युक्रेनी पक्षको प्रतिक्रिया सिन्ह्वाको समाचारमा उल्लेख छैन।
यसैबीच, लुगान्स्कको एक आवासीय क्षेत्रमा शुक्रबार भएको ड्रोन आक्रमणमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको रुसी नियन्त्रणमा रहेको क्षेत्रका प्रमुख लियोनिद पासेचनिकले बताएका छन्। उनले आक्रमण युक्रेनले गरेको आरोप लगाएका छन्। उनका अनुसार पछि मृत्यु भएको पुष्टि भएका तीन जनामा एक १३ वर्षीया बालिका, उनकी आमा र एक वृद्धा छन्। यसअघि तीन जनाको मृत्यु र छ जना घाइते भएको विवरण दिइएको थियो।





