जीवनयापन खर्च घटाउन र पारिश्रमिक बढाउन युरोपका विभिन्न देशमा प्रदर्शन

ड्रागन मिडिया समाचार कक्ष
बढ्दो जीवनयापन खर्च घटाउन, पारिश्रमिक र निवृत्तिभरण बढाउन तथा सार्वजनिक सेवामा लगानी विस्तार गर्न माग गर्दै शुक्रबार युरोपका विभिन्न देशमा प्रदर्शन र हडताल भएका छन्। सिन्ह्वाका अनुसार आवास अधिकारकर्मी, श्रमिक संघ र सामाजिक अभियानका समूहले नोभेम्बर २० देखि २२ सम्म समन्वित प्रदर्शनको आह्वान गरेका थिए। किफायती आवास, खाद्यान्न र ऊर्जाको मूल्य घटाउने तथा सार्वजनिक सेवा सुधार्ने उनीहरूका प्रमुख माग छन्। यही अवधिमा केही देशमा छुट्टै आयोजना गरिएका हडताल पनि भएका छन्।
इटालीमा आमहडताल आयोजना गरेको श्रमिक महासंघ सीजीआईएलका अनुसार देशभरका प्रदर्शनमा १० लाखभन्दा बढी मानिस सहभागी भए। हडतालले विद्यालय, अस्पताल र निजी व्यवसायको सेवा प्रभावित बनायो। प्रदर्शनकारीले पारिश्रमिक वृद्धि, निवृत्तिभरणको सुरक्षा तथा स्वास्थ्य र शिक्षामा सार्वजनिक खर्च बढाउन माग गरेका छन्।
पोर्चुगलमा सार्वजनिक क्षेत्रका कर्मचारीको देशव्यापी हडतालले स्वास्थ्य सेवा, विद्यालय र फोहोर सङ्कलन प्रभावित भए। धेरै विद्यालय बन्द भए भने अस्पतालले अत्यावश्यक सेवा मात्र सञ्चालन गरे। हडतालको आह्वान गरेको श्रमिक संघहरूको गठबन्धन फ्रेन्टे कोमुमले सार्वजनिक क्षेत्रका सबै कर्मचारीको तलब कम्तीमा १५ प्रतिशत र प्रतिव्यक्ति कम्तीमा १५० युरो बढाउन माग गरेको छ। सन् २०२७ को बजेटमाथि संसदमा मंगलबार अन्तिम मतदान हुने कार्यक्रम छ।
बेलायतको राजधानी लन्डनमा प्रदर्शनकारीले बढ्दो जीवनयापन खर्च र सैन्य खर्चको विरोध गर्दै शिक्षा, स्वास्थ्य र आवासमा लगानी बढाउन माग गरे। संसद स्क्वायर र ट्राफलगर स्क्वायरमा भेला भएका प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालयनजिकै ह्वाइटहल हुँदै जुलुस निकालेपछि सवारी आवागमन प्रभावित भयो।
जर्मनीका बर्लिन, कोलोन, फ्र्याङ्कफर्ट र म्युनिखमा प्रदर्शनकारीले शिक्षा बजेट कटौतीको विरोध गरे। उनीहरूले विद्यालयका पूर्वाधार सुधार्न, शिक्षामा समान पहुँच सुनिश्चित गर्न, जलवायु परिवर्तनविरुद्ध कदम चाल्न र किफायती आवासको व्यवस्था गर्न माग गरेका छन्। बर्लिन प्रहरीका अनुसार त्यहाँको प्रदर्शनमा करिब चार हजार पाँच सय जनासम्म सहभागी भए।
स्पेनको म्याड्रिडमा हडतालसँग सम्बन्धित गतिविधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै पाँच सयभन्दा बढी शिक्षकले क्षेत्रीय शिक्षा कार्यालयअगाडि प्रदर्शन गरेको स्पेनी समाचार संस्था ईएफईले जनाएको छ। फ्रान्समा शुक्रबार साना प्रदर्शन भए। ‘पहेंलो ज्याकेट’ आन्दोलनको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार देशव्यापी प्रदर्शन गर्ने तयारी रहेको सिन्ह्वाले जनाएको छ।





