२१ आश्विन २०८३, बुधबार

पुष्पा भुसाल कांग्रेस उपसभापतिमा निर्विरोध

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध भएकी छन्। निर्वाचन समितिका अनुसार उक्त पदमा उनको मात्र उम्मेदवारी परेको छ। गत पुसमा भएको विशेष महाधिवेशनमा पनि उनी उपसभापति चुनिएकी थिइन्। ६५ वर्षीया भुसाल शैलजा आचार्यपछि कांग्रेस उपसभापति हुने दोस्रो महिला हुन्।

“महिला नेतृत्व तहमा आएपछि मात्र समाज परिवर्तन हुन्छ” भन्ने धारणा राख्दै आएकी भुसाल लामो समयदेखि महिला अधिकार र समानताको पक्षमा सक्रिय छिन्। उनी २०१९ फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन्। उनका बुबा काशीनाथ गौतम २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री थिए। २०१७ सालमा प्रजातन्त्र खोसिएपछि उनको परिवार १४ वर्ष भारतमा बसेको थियो। बुबाबाट प्रेरित भएर राजनीतिमा चासो राखेकी भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागिन् र २०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्य बनिन्।

अध्यापन र वकालतमा लामो समय बिताएकी भुसालले संविधान निर्माण प्रक्रियामा पनि भूमिका निर्वाह गरेकी छन्। उनले २०६३ सालको अन्तरिम संविधान मस्यौदा समिति र २०६४ सालको संविधान मस्यौदा समितिमा काम गरेकी थिइन्। नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेसकी सल्लाहकार तथा कांग्रेसको कानुनी सल्लाहकार समिति र महिला विभागकी सदस्य रहेकी उनी नेपाल महिला संघको दुई कार्यकाल महासचिव भएकी थिइन्।

भुसाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भएकी थिइन्। २०७४ सालमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button