२१ आश्विन २०८३, बुधबार

नेपाल–रूस परामर्श संयन्त्रको तेस्रो बैठक आज, सहकार्यका विविध विषयमा छलफल हुने

ड्रागन मिडिया सम्वाददाता

नेपाल र रूसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक बुधबार काठमाडौंमा बस्दैछ। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष मनाइरहेका दुई देशबीचको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन्।

द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा नियमित परामर्श तथा विचार आदानप्रदान गर्ने उद्देश्यले नेपाल र रूसले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए। संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।

बैठकमा नेपाल–रूस सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषय र बहुपक्षीय मञ्चमा सहकार्य पनि बैठकको कार्यसूचीमा रहनेछ।

उपविदेशमन्त्री रुडेन्कोले मंगलबार काठमाडौंस्थित रूसी दूतावासले आयोजना गरेको खुला संवादमा नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति सरकार र नेपाली जनतासमक्ष समवेदना व्यक्त गरे। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघीय महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै उनले जलवायु परिवर्तनलाई विश्वका लागि “खतराको घण्टी” भने। रूस आफ्नो क्षमताअनुसार नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

रुडेन्कोले आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि रूसमा उच्च शिक्षा हासिल गर्न ५२ छात्रवृत्ति कोटा उपलब्ध गराइने जानकारी दिए। शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण आधार बताउँदै उनले यी क्षेत्रमा सहकार्य निरन्तर गर्ने प्रतिबद्धता जनाए।

भ्रमणका क्रममा नेपाली नागरिक रूसी सेनामा भर्ती भएको, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषय पनि नेपाली पक्षले बैठकमा उठाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button