तातोपानी र रसुवागढी नाका खोल्न चीनसँग संवाद जारी : मन्त्री लम्साल

ड्रागन मिडिया सम्वाददाता
प्राकृतिक विपद्का कारण अवरुद्ध तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर संवाद भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले तातोपानी नाका खोल्न नेपालतर्फ कुनै समस्या नरहेको बताए। नेपालतर्फको सडक सञ्चालनमा आइसके पनि चिनियाँ पक्ष पूर्ण रूपमा तयार भइनसकेको उनको भनाइ छ।
ठूलो प्राकृतिक विपद्का कारण नाका सञ्चालनमा केही प्राविधिक समस्या देखिए पनि सरकारले सडक पूर्वाधार निर्माण र पुनःस्थापनाको काम अघि बढाइरहेको मन्त्री लम्सालले बताए। रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक मार्ग भएकाले त्यसलाई छिटो सञ्चालन गर्न आवश्यक पूर्वाधार पुनर्निर्माणको योजना बनाएर सरकार अघि बढेको उनले जानकारी दिए।





