एमाले स्थायी कमिटीको बैठक बिहीबार, वरिष्ठ नेताका रूपमा विद्या भण्डारी सहभागी हुने

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा पहिलोपटक वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सहभागी हुने पार्टीका प्रचार प्रमुख नीरज आचार्यले बताएका छन्।
केन्द्रीय कमिटीले स्थायी कमिटीमा सबै पदाधिकारी रहने र थप सात जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो। भण्डारीलाई पनि वरिष्ठ नेताका रूपमा मनोनीत गरिएको थियो। स्थायी कमिटीमा पदाधिकारीबाहेक ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे रहनेछन्।
बैठकले केन्द्रीय कमिटीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टीका विभिन्न तह र निकायमा जिम्मेवारी बाँडफाँट गर्नेछ। केन्द्रीय सदस्य, पोलिटब्युरो र स्थायी कमिटीका थप सदस्य तथा ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागका सदस्यको जिम्मेवारी टुङ्गो लगाइने आचार्यले बताए।





