कम्युनिस्ट आन्दोलनको वैचारिक बहसमा दुई पुस्तक सार्वजनिक

ड्रागन मिडिया सम्वाददाता
पूर्णबहादुर सिंह ‘समरजङ्ग’द्वारा लिखित ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ बुधबार काठमाडौंमा सार्वजनिक भएका छन्। अथक मासिकले संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले यी पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनका समस्या र सम्भावित निकासबारे वैचारिक बहस अघि बढाउन सहयोग गर्ने धारणा राखे।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले सिंहको पुस्तकले आन्दोलनका समस्या उजागर गरेको र चन्दको पुस्तकले निकासको आधार प्रस्तुत गरेको बताए। आत्मनिर्भर बन्दै गएको अर्थतन्त्रलाई योजनाबद्ध रूपमा परनिर्भर बनाइएको विषय सिंहले पुस्तकमा समेटेको उनको भनाइ थियो।
प्राध्यापक डा. सुरेन्द्र केसीले दुवै पुस्तकले आरोप–प्रत्यारोपभन्दा समस्याको समाधानमा जोड दिएको बताए। नेकपा (बहुमत)का महासचिव उदयबहादुर चलाउने ‘दीपक’ले नेपाली कम्युनिस्ट पार्टीहरूले समाजवादी क्रान्ति अघि बढाउने अवसर गुमाएको र नवऔपनिवेशिक दलाल पुँजीवादको विकल्प समाजवाद भएको धारणा राखे।
लेखकद्वयले कम्युनिस्ट आन्दोलनको विभाजन, असफलता र एकअर्कालाई दोष दिने प्रवृत्तिबारे समीक्षा गर्नुपर्ने बताए। कार्यक्रममा अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष मिलन राई, अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद थापा, समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतम र साहित्यकार रामेश्वर राउतले पनि पुस्तक तथा आन्दोलनको वैचारिक दिशाबारे धारणा राखेका थिए।





