६ मंसिर २०८३, शनिबार

सिक्किममा मत्स्यपालन उत्कृष्टता पुरस्कार घोषणा, हरेक वर्ष छ जनालाई वा संस्थालाई सम्मान

ड्रागन मिडिया समाचार कक्ष

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले विश्व मत्स्य दिवसका अवसरमा ‘मुख्यमन्त्री मत्स्यपालन उत्कृष्टता पुरस्कार’ घोषणा गरेका छन्। यसै वर्षदेखि हरेक वर्ष तीन उत्कृष्ट मत्स्यपालक, एक उत्कृष्ट माछा मार्ने श्रमिक, एक उत्कृष्ट मत्स्य सहकारी संस्था र मत्स्य विभागका एक उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिइनेछ।

गोलेले पुरस्कारबाट मत्स्य क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाको योगदानको कदर हुने तथा सुधारिएका उत्पादन विधि अपनाउन प्रोत्साहन मिल्ने बताएका छन्। प्रशस्त ताजा पानीका स्रोत र चिसो पानीमा मत्स्यपालन गर्न अनुकूल वातावरण रहेको सिक्किममा रेन्बो ट्राउट पालन विस्तार र रैथाने माछाको संरक्षण गर्न सकिने उनले बताए।

मत्स्यपालनबाट ग्रामीण रोजगारी र आम्दानी बढाउन माछाका भुराको उपलब्धता सुधार्ने, आधुनिक प्रविधिको प्रयोग बढाउने, पूर्वाधार विस्तार गर्ने र उत्पादकलाई बजारसँग जोड्ने काम आवश्यक रहेको गोलेको भनाइ छ। उनले ग्रामीण युवा, महिला र स्थानीय उद्यमीको सहभागितामा पनि जोड दिएका छन्।

सिक्किम सरकारले प्रधानमन्त्री मत्स्य सम्पदा योजना र मुख्यमन्त्री मत्स्य उत्पादन योजनामार्फत मत्स्यपालनका पूर्वाधार, प्रविधि र उद्यम विकासमा सहयोग गर्दै आएको गोलेले बताए। उनका अनुसार राज्यको मत्स्य विभागले नदी सफाइ अभियान सञ्चालन गरेको छ। चिरबेरे नदी महोत्सवमार्फत नदी संरक्षण र जिम्मेवार ढङ्गले माछा मार्ने अभ्यासलाई प्रोत्साहन गरिएको छ। सिक्किमको मत्स्य क्षेत्रको प्रवर्द्धन गर्न डिसेम्बर २०२६ मा सिलिगुडीमा माछा महोत्सव आयोजना गर्ने तयारी पनि छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button