२१ आश्विन २०८३, बुधबार

बेपत्तालाई मृत घोषणा गर्ने अवधि ४५ दिन बनाउन अध्यादेश सिफारिस

ड्रागन मिडिया सम्वाददाता

सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने कानुनी अवधि १२ वर्षबाट घटाएर ४५ दिन कायम गर्ने व्यवस्था गर्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशसहित तीन अध्यादेश सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

भदौ १० मा त्रिशूली नदीमा आएको बाढीपछि पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको समाचारमा उल्लेख छ। कानुनी व्यवस्थाअनुसार बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न मिल्ने भएकाले प्रभावित परिवारलाई परेको व्यवहारिक समस्या समाधान गर्न कानुन संशोधनको प्रक्रिया अघि बढाइएको हो।

बैठकले भूमिसम्बन्धी र वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश पनि जारी गर्न सिफारिस गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले क्षतिपूर्तिका लागि सिफारिस गरेका १५३ पीडितलाई रकम उपलब्ध गराउन स्वीकृति दिने र पोर्चुगललाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णयसमेत गरेको मन्त्री पोखरेलले बताए।

मन्त्रीपरिषद्ले सहसचिव नवीनराज सिंह र चक्रबहादुर बुढालाई क्रमशः नेपाल इञ्जिनियरिङ सेवा र नेपाल प्रशासन सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई पनि विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button