२७ आश्विन २०८३, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरण : ५८ पीडितलाई १५ करोडभन्दा बढी रकम भराउन आदेश

ड्रागन मिडिया सम्वाददाता

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा ठगी गरिएको प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ५८ पीडितलाई १५ करोड ३७ लाख ९७ हजार रुपैयाँ भराउन आठ प्रतिवादीलाई आदेश दिएको छ। अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि रकम फिर्ता गर्नुपर्ने प्रतिवादी र पीडितको बिगो विवरण बाहिर आएको हो।

पूर्णपाठअनुसार सन्देश शर्माले ३८ जनाबाट लिएको रकमबापत सात करोड ४७ लाख रुपैयाँ पीडितलाई फिर्ता गर्नुपर्नेछ। सानु भण्डारीबाट दुई करोड ६० लाख र केशवप्रसाद दुलालबाट एक करोड ५८ लाख रुपैयाँ भराउन पनि अदालतले आदेश दिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ४० लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ। अन्य प्रतिवादीबाट पनि पीडितको दाबीअनुसार रकम भराउने आदेश भएको छ।

अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ठगी, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा मतियार ठहर गर्दै दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ती कसुरमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई किर्तेसहितका कसुरमा मतियार ठहर गर्दै दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाँण, पाण्डे र रिजालबाट पीडितलाई रकम भराउनुपर्ने ठहर भने अदालतले गरेको छैन।

अदालतले गृह मन्त्रालयको प्रतिवेदनमा अनुसूची थपेर ५८१ परिवारको नाम समावेश गरी नक्कली कागजात तयार गरिएको र त्यसका आधारमा सर्वसाधारणबाट रकम असुलिएको ठहर गरेको छ। तत्कालीन गृहसचिव पाण्डे र बिचौलिया केशवप्रसाद दुलालबीचको संवाद तथा सरकारी कामकारबाहीमा भएको हस्तक्षेपलाई पनि फैसलामा प्रमाणका रूपमा व्याख्या गरिएको छ।

प्रहरीमा ११२ जनाभन्दा बढी ठगिएको भन्दै जाहेरी परेको थियो। अदालतले केही जाहेरीकर्ताको बिगो कायम गरेको, सात जनालाई सफाइ दिएको र फरार रहेका आठ प्रतिवादीको मुद्दा उनीहरू पक्राउ नपरेसम्म मुल्तबीमा राखेको छ।b

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button