नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजा

ड्रागन मिडिया सम्वाददाता
नवरात्रको तेस्रो दिन आज घरघरका दसैँघर र पूजाकोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
पौराणिक वर्णनअनुसार, शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहेको हो। देवीको स्वरूप पहेँलो वर्णको मानिन्छ। उनको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वासका साथ नवरात्रमा विशेष पूजा गरिन्छ।
नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार, मार्कण्डेय पुराणमा चन्द्रघण्टा देवीको नाम र स्वरूपबारे उल्लेख छ।
यस दिन देवीको ध्यानसँगै मणिपुर चक्रमा ध्यान गर्ने परम्परा रहेको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए। धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको आराधनाले शक्ति प्राप्त हुने र पाप नाश हुने विश्वास उल्लेख गरिएको उनले जानकारी दिए।
देवीको स्वरूप शान्त, करुणामयी र सामान्य रहेको धार्मिक वर्णन छ। गीत–सङ्गीत क्षेत्रमा लागेका व्यक्तिले पनि यस दिन चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गरेको भट्टराईले बताए।





