१२ मंसिर २०८३, शुक्रबार

एसियाको शक्ति सन्तुलनमा परिवर्तन : अमेरिका र चीनबीचको अन्तर घट्यो, भारतको कूटनीतिक प्रभाव विस्तार

ड्रागन मिडिया समाचार कक्ष

एसियाको भूराजनीतिक शक्ति संरचनामा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। अस्ट्रेलियास्थित लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको ‘एसिया शक्ति सूचकांक–२०२६’ अनुसार अमेरिका र चीनबीचको समग्र शक्ति अन्तर सन २०१८ यताकै न्यून विन्दुमा पुगेको छ भने भारतले आफ्नो क्षेत्रीय कूटनीतिक प्रभाव, आर्थिक सम्बन्ध तथा रक्षा साझेदारी विस्तार गर्दै तेस्रो शक्तिका रूपमा आफ्नो स्थान सुदृढ बनाएको छ।

एसिया तथा प्रशान्त क्षेत्रका २७ मुलुक तथा क्षेत्रलाई समेटेर तयार गरिएको सूचकांकअनुसार अमेरिका १०० पूर्णाङ्कमा ७८.९ अंकसहित पहिलो, चीन ७३.६ अंकसहित दोस्रो र भारत ४०.५ अंकसहित तेस्रो स्थानमा छन्।

जापान ३८.६ अंकसहित चौथो, रुस ३२.२ अंकसहित पाँचौँ, अस्ट्रेलिया ३१.७ अंकसहित छैटौँ र दक्षिण कोरिया ३१ अंकसहित सातौँ स्थानमा छन्। नेपाल भने ५.१ अंकसहित २६ औँ स्थानमा रहेको छ।

लोवी इन्स्टिच्युटले आर्थिक क्षमता, सैन्य क्षमता, संकट सामना गर्ने क्षमता, भावी श्रोतसाधन, आर्थिक सम्बन्ध, रक्षा साझेदारी, कूटनीतिक प्रभाव र सांस्कृतिक प्रभाव गरी आठ प्रमुख आधारमा समग्र राष्ट्रिय शक्तिको मूल्याङ्कन गरेको हो।

अमेरिका र चीनबीच घट्दो शक्ति अन्तर

सन २०१८ मा अमेरिका र चीनबीच समग्र शक्ति अन्तर १०.१ अंक रहेकोमा सन २०२६ मा ५.३ अंकमा झरेको छ। सूचकांक प्रकाशन शुरु भएयता दुई महाशक्तिबीचको यो सबैभन्दा कम अन्तर हो।

सन २०२५ मा अमेरिकाको समग्र शक्ति अंक ८०.५ रहेकोमा यस वर्ष ७८.९ मा झरेको छ। चीनको अंक भने ७३.७ बाट सामान्य घटेर ७३.६ पुगेको छ।

यसबाट दुई देशबीचको शक्ति अन्तर साँघुरिनुमा चीनको वार्षिक अंक वृद्धिभन्दा अमेरिकी प्रभावमा आएको गिरावटको भूमिका बढी रहेको देखिन्छ।

आर्थिक सम्बन्ध तथा कूटनीतिक प्रभावमा चीनले अमेरिकाभन्दा उल्लेखनीय अग्रता कायम गरेको छ। चीनको आर्थिक सम्बन्धसम्बन्धी सूचक ९१.८ र कूटनीतिक प्रभाव ९८.४ अंक रहेको छ। यी दुई क्षेत्रमा अमेरिकाको प्राप्ताङ्क क्रमशः ५८ र ७६.७ रहेको छ।

यद्यपि सैन्य क्षमता, रक्षा साझेदारी, सांस्कृतिक प्रभाव र संकट सामना गर्ने क्षमतामा अमेरिकाले चीनभन्दा अग्रता कायम राखेको छ।

अमेरिकी कूटनीतिक प्रभावमा गिरावट

लोवी इन्सिच्युटका अनुसार अमेरिकाको कूटनीतिक प्रभाव एक वर्षमा छ अंकले घटेर ७६.७ मा पुगेको छ। सूचकांक प्रकाशन शुरु भएयता अमेरिकी कूटनीतिक प्रभावमा आएको यो सबैभन्दा ठूलो वार्षिक गिरावट हो।

प्रतिवेदनले अमेरिकी प्रशासनका एकपक्षीय निर्णय, अतिरिक्त भन्सार महसुल, अन्तर्राष्ट्रिय संस्थाबाट अलग हुने नीति तथा मध्यपूर्वमा सैन्य संलग्नतालाई कूटनीतिक प्रभाव कमजोर हुनुका केही कारणका रूपमा औँल्याएको छ।

एसियामा अमेरिकी सैन्य तथा रणनीतिक प्रतिबद्धताको निरन्तरतासम्बन्धी प्रश्नले पनि क्षेत्रीय साझेदार मुलुकमा अनिश्चितता बढाएको प्रतिवेदनको विश्लेषण छ।

भारतको कूटनीतिक प्रभाव विस्तार

द टाइम्स अफ इन्डियाले लोवी इन्स्टिच्युटको अध्ययनलाई आधार बनाएर प्रकाशित गरेको विश्लेषणमा भारतको क्षेत्रीय प्रभाव विस्तार हुनुमा कूटनीतिक सक्रियता, रक्षा साझेदारी तथा सांस्कृतिक सम्पर्कको भूमिका रहेको उल्लेख गरेको छ।

भारतको समग्र शक्ति अंक सन २०२५ को ४० बाट बढेर सन २०२६ मा ४०.५ पुगेको छ। भारत र चीनबीचको शक्ति अन्तर पनि ३३.१ अंकमा झरेको छ।

तर चीनको समग्र शक्ति अंक अझै भारतको तुलनामा करिब ८२ प्रतिशत बढी छ। भारतको पछिल्लो सुधारका बाबजुद दुई देशबीच आर्थिक, सैन्य तथा औद्योगिक क्षमतामा उल्लेखनीय अन्तर कायमै छ।

भारतले कूटनीतिक प्रभावमा ७०.३ अंक प्राप्त गरेको छ। आर्थिक क्षमतामा २६.४, सैन्य क्षमतामा ४८.५, संकट सामना गर्ने क्षमतामा ५५.४ र भावी श्रोतसाधनमा ५६.२ अंक प्राप्त गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय नेतृत्वसम्बन्धी विज्ञ मूल्याङ्कनमा पनि अघिल्लो वर्षको तुलनामा सुधार आएको अध्ययनमा उल्लेख छ। उक्त मूल्याङ्कन राष्ट्रको समग्र शक्ति सूचकांकभन्दा पृथक सूचक हो।

रक्षा साझेदारी र आर्थिक सम्बन्धमा सुधार

भारतले दक्षिणपूर्वी एसियाली मुलुकसँग रक्षा सहकार्य विस्तार गर्दै आफ्नो रणनीतिक उपस्थिति सुदृढ बनाउने प्रयास गरिरहेको छ।

फिलिपिन्स, भियतनाम र इन्डोनेसियासँग भएका ब्रह्मोस क्षेप्यास्त्र निर्यातसम्बन्धी सम्झौतालाई भारतीय रक्षा साझेदारी विस्तारका उदाहरणका रूपमा द टाइम्स अफ इन्डियाले प्रस्तुत गरेको छ।

भारतको रक्षा साझेदारीसम्बन्धी सूचक १८.६ अंक र आर्थिक सम्बन्धसम्बन्धी सूचक १९.९ अंक पुगेको छ। यी दुवै क्षेत्रमा अघिल्लो वर्षको तुलनामा भारतको स्थान सुधार भएको छ।

यद्यपि भारतीय मुद्राको कमजोरी र वैदेशिक लगानी बहिर्गमनमा आएको गिरावटलगायत कारणले भारतको आर्थिक क्षमतासम्बन्धी सूचकमा कमी आएको अध्ययनले जनाएको छ।

भावी श्रोतसाधनसम्बन्धी सूचकमा भएको सुधारले भने भारतको दीर्घकालीन आर्थिक सम्भावनाप्रति सकारात्मक अपेक्षा रहेको देखाएको छ।

सांस्कृतिक प्रभाव र जनस्तरीय सम्बन्ध

भारतले सांस्कृतिक प्रभावसम्बन्धी सूचकमा ४३.८ अंक प्राप्त गरेको छ। सांस्कृतिक प्रसार, सूचना आदानप्रदान तथा जनस्तरीय सम्पर्क विस्तारले भारतको क्षेत्रीय प्रभावमा योगदान पुर्‍याएको अध्ययनमा उल्लेख छ।

कूटनीतिक तथा सैन्य क्षमताका अतिरिक्त सांस्कृतिक सम्पर्क र जनस्तरीय सम्बन्ध पनि राष्ट्रिय प्रभाव विस्तारका महत्त्वपूर्ण आधार बनेका छन्।

श्रोतसाधनलाई वास्तविक शक्तिमा रूपान्तरण गर्ने चुनौती

भारतको उपलब्ध राष्ट्रिय श्रोतसाधन र त्यसबाट प्राप्त वास्तविक प्रभावबीच भने अझै अन्तर रहेको अध्ययनले देखाएको छ।

लोवी इन्स्टिच्युटको शक्ति रूपान्तरण सूचक अर्थात ‘पावर यिल्ड’ मा भारतले ऋणात्मक ३.३ अंक प्राप्त गरेको छ। यसले भारतको उपलब्ध श्रोतसाधनका आधारमा अपेक्षा गरिएको समग्र शक्तिभन्दा वास्तविक शक्ति कम रहेको देखाउँछ।

यस सूचकमा अघिल्लो वर्षको तुलनामा सुधार भए पनि भारतले आफ्नो आर्थिक, जनसांख्यिक, प्राविधिक तथा अन्य श्रोतसाधनलाई थप प्रभावकारी रूपमा राष्ट्रिय शक्तिमा रूपान्तरण गर्नुपर्ने अवस्था रहेको छ।

नेपाल २६ औँ स्थानमा

एसिया शक्ति सूचकांक–२०२६ मा नेपाल ५.१ अंकसहित २६ औँ स्थानमा रहेको छ। नेपालको समग्र शक्ति अंक अघिल्लो वर्षको तुलनामा सामान्य बढेको छ।

नेपालको शक्ति रूपान्तरण सूचक ऋणात्मक ३.२ अंक रहेको छ। यसले पनि उपलब्ध राष्ट्रिय श्रोतसाधनका आधारमा अपेक्षित शक्तिको तुलनामा नेपालको वास्तविक प्रभाव कम रहेको देखाउँछ।

नेपालका दुवै छिमेकी चीन र भारत एसियाली शक्ति संरचनामा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

लोवी इन्स्टिच्युटको पछिल्लो अध्ययनले एसियामा अमेरिकी प्रभाव, चीनको आर्थिक तथा कूटनीतिक क्षमता र भारतको क्षेत्रीय भूमिकाबीचको बदलिँदो सम्बन्धलाई उजागर गरेको छ। क्षेत्रीय शक्ति प्रतिस्पर्धामा आर्थिक क्षमता र सैन्य शक्तिसँगै कूटनीतिक सम्बन्ध, सांस्कृतिक पहुँच र उपलब्ध श्रोतसाधनको प्रभावकारी परिचालनको महत्त्व पनि बढ्दै गएको अध्ययनको निष्कर्ष छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button