२७ आश्विन २०८३, मंगलवार

बुढीगण्डकी बाढीले २०४ घरमा क्षति, पाँच जना सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २०४ घरमा क्षति पुर्‍याएको छ। घरबार गुमाएका र जोखिममा परेका स्थानीय आफन्त, छिमेकीका पिँढी तथा गोठमा आश्रय लिन बाध्य भएका छन्। पहिरोमा परेका पाँच जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्रीका ४३, धार्चेका ३९, आरुघाटका ६४ र त्रिपुरासुन्दरीका ५८ घरमा क्षति पुगेको छ। बाढीले दुई मोटरेबल पुल, दुई झोलुङ्गे पुल, एउटा बेलिब्रिज र एउटा क्यान्टिलिभर पुल बगाएको छ।

सडक र मनास्लु पदमार्गका विभिन्न खण्ड कटानमा परेपछि उत्तरी गोरखाका बस्तीको आवागमन विच्छेद भएको छ। चुमनुब्री र धार्चे पुग्ने लार्के सडकका दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको, सडक भासिएको र नदीले कटान गरेको स्थानीयले बताएका छन्। केही बस्तीबाट बाहिरिने पैदलमार्गसमेत नष्ट भएको छ।

बाटो अवरुद्ध हुँदा उद्धार, राहत र दैनिक उपभोग्य सामग्री पुर्‍याउन कठिन भएको छ। प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न र अन्य राहत सामग्री हेलिकोप्टरबाट पुर्‍याइएको प्राधिकरणले जनाएको छ। बाढीका कारण जगतमा मनास्लु भ्रमणमा आएका एक सयभन्दा बढी पर्यटक रोकिएका छन्। केहीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि बुढीगण्डकीमा बाढी आएको प्राधिकरणको प्रारम्भिक अनुमान छ। बाढीपछि मनास्लु क्षेत्र विकास आयोजनाले चुम उपत्यकाको पदयात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button