नेपाल बैंकको शाखाबाट नक्कली नोट पाएको भन्दै प्रहरीमा उजुरी

ड्रागन मिडिया सम्वाददाता
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरस्थित नेपाल बैंकको शाखाबाट नक्कली नोट पाएको भन्दै एक सेवाग्राहीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
ती सेवाग्राहीले गत शुक्रबार बैंकबाट १२ हजार रुपैयाँ झिक्दा सय रुपैयाँ दरका नोटमा १० हजार रुपैयाँ र एक हजार रुपैयाँ दरका दुईवटा नोट पाएको बताएका छन्। तीमध्ये एक हजारका दुवै नोट नक्कली भएको उनको दाबी छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाले सेवाग्राहीले रकम झिकेको केही दिनपछि उजुरी दिएको र प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। उजुरीकर्ताको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
बैंकका एक कर्मचारीले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्। यस विषयमा बुझ्न प्रहरीले कार्यालयमा बोलाएपछि आफू त्यतै जान लागेको उनले बताए।





