२७ आश्विन २०८३, मंगलवार

बाँके जिल्लास्तरीय फुटबलमा भद्रकाली र एनके विजयी


ड्रागन मिडिया सम्वाददाता

खजुरामा जारी बाँके जिल्लास्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्ट्स क्लब र एनके स्पोर्ट्स क्लब विजयी भएका छन्।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरा मिनी रङ्गशाला, डी गाउँमा भइरहेको प्रतियोगितामा जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था छ। न्यू भद्रकालीले खेलको अन्तिम समयमा गोल गर्दै न्यू बागमती स्पोर्ट्स क्लबलाई पराजित गरेको हो। भद्रकालीका जर्सी नम्बर सातका निशान्त रानामगरले निर्णायक गोल गरे।

सोमबारको अर्को खेलमा एनके स्पोर्ट्स क्लब र भगवती स्पोर्ट्स क्लबबीच निर्धारित समयमा गोल हुन सकेन। टाइब्रेकरमा एनकेले चार गोल गर्दा भगवतीले दुई गोल मात्र गरेपछि एनके विजयी भएको आयोजक क्लबका अध्यक्ष बालाराम खत्रीले बताए।

प्रतियोगितामा मंगलबार जय किसान स्पोर्ट्स क्लब र नवज्योति युवा क्लबबीच तथा न्यू डाँफे स्पोर्ट्स क्लब ‘बी’ र एनके स्पोर्ट्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ।

विजेता टोलीले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। पुरस्कार रकम खजुरा गाउँपालिका–४, डी गाउँका समाजसेवी लिलबहादुर थापाले सौजन्य गरेका हुन्। नेपालगञ्ज न्युरो अस्पताल प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ।

दशैँ र तिहारको अवसरमा आइतबारदेखि शुरु भएको प्रतियोगितामा १५ टोली सहभागी छन्। प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button