घरघरमा राहदानी पुर्याउन थालेपछि हुलाक सेवाको महत्त्व बढ्यो : मन्त्री तिमिल्सिना

ड्रागन मिडिया सम्वाददाता
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए। बदलिँदो समयअनुसार सेवा परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ थियो।
सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी र अन्य सामग्री पुर्याउन थालेपछि हुलाक सेवाको महत्त्व थप बढेको तिमिल्सिनाले बताए। यसले हुलाकले थप जिम्मेवारी पूरा गर्न सक्ने सन्देश जनमानसमा पुगेको उनले उल्लेख गरे।
बजेट र प्रविधिसम्बन्धी सीमितताका कारण सबै क्षेत्रमा एकैपटक सुधार गर्न सम्भव नभए पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा सहज बनाउनुपर्नेमा उनले जोड दिए। हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्मका सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने पनि उनले बताए।





