खगेन्द्र सुनारमाथि राज्यका निकायबाट अनुसन्धान गर्न एमाले नेता आचार्यको माग

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे सरकारले र राज्यका अनुसन्धान निकायले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
महिलालाई ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि यस विषयलाई पार्टीको आन्तरिक छानबिनमा मात्र सीमित गर्न नहुने आचार्यको भनाइ छ। रास्वपाले आन्तरिक छानबिन थाले पनि राज्यका सम्बन्धित निकायले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने उनले बताएका छन्।
शोषित, पीडित र दलित समुदायको न्यायका लागि आवाज उठाउने व्यक्ति महिलालाई डर र धम्की दिएको आरोपमा मुछिनु विडम्बनापूर्ण भएको आचार्यले टिप्पणी गरेका छन्। दलित अधिकार र महिलाको सम्मानलाई अलग विषयका रूपमा हेर्न नहुने उनको भनाइ छ।
“महिला होस् वा दलित, कमजोर होस् वा शक्तिशाली, कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न पाइँदैन। सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने अनुमति होइन,” उनले भनेका छन्।
आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्दै आचार्यले पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।





