२७ आश्विन २०८३, मंगलवार

युरोपेली संघका नयाँ प्रतिबन्धलाई ‘अवैध र निराधार’ भन्दै रुसको जवाफी कदमको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

रुसका विरुद्ध व्यक्तिगत प्रतिबन्ध विस्तार गर्ने युरोपेली संघको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै युरोपेली संघका लागि रुसी स्थायी नियोगले त्यसलाई अवैध र निराधार भनेको छ। अक्टोबर १२ मा जारी वक्तव्यमा नियोगले रुसले यस्ता एकपक्षीय दबाबमूलक उपायलाई मान्यता नदिने जनाएको छ।

युरोपेली संघको प्रतिबन्ध अभियानलाई नियोगले घाटा उठाउन बाजी बढाइरहने निराश जुवाडेसँग तुलना गरेको छ। रुसलाई अधिकतम क्षति पुर्‍याउने उद्देश्यले प्रतिबन्ध थप्दै जानु अन्ततः युरोपेली संघकै लागि असफलता, निराशा र पछुतोको कारण बन्ने उसको दाबी छ।

युरोपेली संघका केही साझेदारले रुससँग व्यावहारिक र रचनात्मक संवाद अघि बढाउन खोजिरहेका बेला ब्रसेल्सले प्रतिबन्ध विस्तारको घोषणा गरेको वक्तव्यमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको बडापत्रलाई छल्दै लगाइने एकपक्षीय दबाबमूलक उपायलाई रुसले अस्वीकार गर्ने नियोगले जनाएको छ। प्रतिबन्धको दबाबमार्फत रुसको विदेशनीति बदल्ने युरोपेली संघको प्रयास सफल नहुने उसको भनाइ छ। सेप्टेम्बर १८ देखि २० सम्म रुसमा भएको संसदीय निर्वाचनको परिणामले पनि प्रतिबन्धको यस्तो प्रयास निष्फल भएको पुष्टि गर्ने नियोगको दाबी छ।

युरोपेली संघका पछिल्ला कदमको रुसले उचित जवाफ दिने वक्तव्यमा चेतावनी दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button