खगेन्द्र सुनारसम्बन्धी अडियो प्रकरणमा ओशो तपोवनको धारणा माग

ड्रागन मिडिया सम्वाददाता
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले विवादमा परेका व्यक्तिको प्रवेशबारे स्पष्ट धारणा सार्वजनिक गर्न काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले आध्यात्मिक केन्द्रले मानिसलाई सुध्रिने अवसर दिनुपर्ने बताए। तर सार्वजनिक जीवनमा जिम्मेवारी र नैतिकतासम्बन्धी प्रश्न उठेका व्यक्तिबारे विवाद सार्वजनिक भएपछि तपोवनले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको टेलिफोन अडियोमा महिलालाई धम्की दिएको र अश्लील शब्द प्रयोग गरेको विषय सार्वजनिक भएपछि त्रिपाठीले यस्तो टिप्पणी गरेका हुन्। उनले सम्बन्धित व्यक्तिलाई तपोवन प्रवेशमा रोक लगाउने निर्णयसहित आधिकारिक वक्तव्य जारी भए संस्थाप्रतिको सम्मान अझ बढ्न सक्ने बताएका छन्।
त्रिपाठीले गलत बाटोमा लागेका व्यक्तिलाई सुध्रिने अवसर दिनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण र जवाफदेहिताबारे आध्यात्मिक संस्थाले पनि स्पष्ट धारणा राख्नुपर्ने बताएका छन्।





