सिरहामा १६ किलोभन्दा बढी गाँजासहित ५६ वर्षीय पुरुष पक्राउ

ड्रागन मिडिया सम्वाददाता
सिरहाको धनगढीमाई नगरपालिका–१४, बिहीबारे टोलबाट प्रहरीले १६ किलो २७० ग्राम गाँजासहित ५६ वर्षीय झनकबहादुर ठकुरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठकुरीको घरमा गाँजा लुकाएर राखिएको सूचनाका आधारमा मंगलबार प्रहरी टोलीले खानतलासी गरेको थियो। घरभित्रबाट तीन किलो ५२० ग्राम र घरदेखि करिब ५० मिटर पूर्व सरे खोलाको कासघारीबाट १२ किलो ७५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्युरो, गोलबजार शाखाको संयुक्त टोलीले खानतलासी गरेको थियो। ठकुरीलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





