चीनमा कृषि ड्रोनको सङ्ख्या तीन लाख नाघ्यो

ड्रागन मिडिया समाचार कक्ष
चीनमा कृषि कार्यका लागि प्रयोग हुने ड्रोनको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ। विश्वमै सबैभन्दा ठूलो कृषि ड्रोन समूह रहेको चीनमा ती उपकरणले हरेक वर्ष तीन करोड छ लाख ७० हजार हेक्टरभन्दा बढी खेतबारीमा काम गरिरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सुरुमा मुख्यतः बालीमा औषधि छर्कन प्रयोग गरिएका ड्रोन अहिले बालीको अवस्था अनुगमन गर्न, कृषि सामग्री ढुवानी गर्न र उपज ओसार्न पनि प्रयोग भइरहेका छन्। खेतीमा रोपाइँदेखि बाली भित्र्याउने कामसम्म यस्ता उपकरणको प्रयोग विस्तार हुँदै गएको छ।
उद्योगसम्बन्धी तथ्याङ्कअनुसार बाली संरक्षणका लागि प्रयोग हुने ड्रोनले हातैले गरिने कामभन्दा २० गुणाभन्दा बढी प्रभावकारी रूपमा काम गर्न सक्छन्। तिनको प्रयोगबाट पानीको खपत आधाभन्दा बढी घटाउन र विषादीको प्रयोग २० देखि ४० प्रतिशतसम्म कम गर्न सकिने बताइएको छ। चीनभर बाली संरक्षणमा कृषि ड्रोन प्रमुख प्राविधिक उपकरण बनेका छन्।
पूर्वी चीनको झेजियाङ प्रान्तस्थित गुआन’आओ गाउँको एउटा सहकारीले धानजस्तै पानीमा फल्ने तरकारीको खेतमा नियमित काम गर्न ड्रोन प्रयोग गर्दै आएको छ। ड्रोनबाट एकै दिनमा करिब ३३ हेक्टर खेतमा औषधि छर्कने र मल हाल्ने काम पूरा गर्न सकिन्छ। प्रत्येक पटकको काममा पाँच हजारदेखि छ हजार युआनसम्म बचत हुने र वार्षिक श्रम खर्चमा ३० हजारदेखि ४० हजार युआनसम्म कमी आउने सहकारीले जनाएको छ।
चीनको रेनमिन विश्वविद्यालयका प्राध्यापक झोउ लीका अनुसार ग्रामीण क्षेत्रमा श्रमिकको संरचना बदलिँदा र ज्याला बढ्दा खेतीमा यान्त्रिक उपकरणको माग बढेको छ। कम उचाइमा सञ्चालन हुने उपकरण र सेवाका लागि सरकारी नीतिगत सहयोग तथा घरेलु उत्पादकहरूले प्रविधि सुधार्दै लागत घटाएकाले साना किसान र सहकारीका लागि पनि ड्रोन पहुँचयोग्य बन्दै गएको उनले बताएका छन्।
फलफूलका बगैँचा, चिया बगान र संरक्षित खेती विस्तार भइरहेका क्षेत्रमा ड्रोनको उपयोगिता अझ बढेको छ। पहाडी भूभाग र ठूला यन्त्र पुग्न कठिन हुने छरिएका खेतमा तिनले विशेष लाभ दिन्छन्। ढुवानी, परागसेचन, बीउ छर्ने र खेत निरीक्षणमा समेत ड्रोन प्रयोग हुन थालेपछि कृषि क्षेत्रमा यसको सम्भावना थप फराकिलो भएको विज्ञहरूको भनाइ छ।
कृषि ड्रोन चीनले अघि बढाइरहेको स्मार्ट खेतीको एउटा उदाहरण मात्र हो। स्मार्ट बाली भित्र्याउने रोबोट, स्वचालित सिँचाइ प्रणाली र कृत्रिम बुद्धिमत्तामा आधारित झार हटाउने यन्त्र पनि खेतबारीमा प्रयोग हुन थालेका छन्। यस्ता उपकरणले खेतीको कामलाई बढी प्रभावकारी र सटीक बनाउन सहयोग गरिरहेका छन्।
सन् २०२१ देखि २०२५ सम्मको चौधौँ पञ्चवर्षीय योजनाको अवधिमा चीनले कृषि यान्त्रिकीकरणमा उल्लेखनीय प्रगति गरेको कृषि तथा ग्रामीण मामिला मन्त्रालयका एक अधिकारीले बताएका छन्। कृषि विज्ञान तथा प्रविधिको प्रगतिबाट उत्पादनमा पुगेको योगदान ६४ प्रतिशतभन्दा बढी भएको, उन्नत बीउको प्रयोग ९६ प्रतिशतभन्दा बढी क्षेत्रमा पुगेको र बाली लगाउने, स्याहार्ने तथा भित्र्याउने कामको समग्र यान्त्रिकीकरण दर ७६.७ प्रतिशत पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। प्रमुख खाद्यान्न बालीमा यान्त्रिकीकरण व्यापक रूपमा लागू भएको जनाइएको छ।





