१३ कार्तिक २०८३, बिहीबार

पोखरामा मृत नवजात शिशु शौचालयको च्याम्बरमा फेला, १९ वर्षीया महिला पक्राउ

ड्रागन मिडिया सम्वाददाता

पोखराको लेकसाइडमा सालनाल जोडिएको अवस्थामा मृत नवजात शिशु शौचालयको च्याम्बरमा फेला परेपछि प्रहरीले एक १९ वर्षीया महिलालाई पक्राउ गरेको छ। उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखरा महानगरपालिका–६, स्ट्रिट नम्बर ८ को भित्री गल्लीस्थित टहराको शौचालय जाम भएर पानी ननिस्किएपछि घरधनीले बाहिरको च्याम्बर खोलेर हेर्दा शिशुको शव भेटिएको थियो। प्रहरीले कात्तिक ३ गते साँझ करिब ७:४० बजे घटनाबारे खबर पाएको जनाएको छ।

बैदामस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लेकसाइडमा भाडामा बस्दै आएकी ती महिला घटनापछि फरार भएको खुलेको थियो। खोजीका क्रममा उनलाई कात्तिक ४ गते राति पोखरा–२१, लुकुन्स्वारबाट पक्राउ गरिएको हो। उनको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।

कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। शिशुको मृत्युको कारण र घटनाको अन्य विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button