नारायणीमा मोटरबोट चढ्ने पर्यटक घटेपछि व्यवसायी चिन्तित

ड्रागन मिडिया सम्वाददाता
नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको आकर्षण घट्दै गएपछि व्यवसायीले सञ्चालनको परम्परागत शैली परिवर्तन गर्नुपर्ने बताएका छन्। पर्यटकको बदलिँदो रुचिअनुसार सेवा विस्तार र नयाँ अनुभव थप्नुपर्ने उनीहरूको भनाइ छ।
व्यवसायीका अनुसार अन्य पर्यटकीय गन्तव्यमा मोटरबोट सेवा विस्तार हुनु, नारायणीको धार परिवर्तन हुनु र बाढीका कारण नदीको अवस्था फेरिनुले व्यवसाय प्रभावित भएको छ।
नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले पर्यटकलाई लामो समय आकर्षित गर्न सञ्चालनको शैलीमा नयाँपन ल्याउनुपर्ने बताए। “हामीले शुरुमा जसरी मोटरबोट सञ्चालन गरेका थियौँ, त्यो पुरानो तरिका भइसकेको छ। अब सेवामा नयाँपन र विविधता ल्याउनुपर्छ,” उनले भने।
उनका अनुसार पहिले नारायणी नदीमा मात्रै मोटरबोट सञ्चालन हुन्थे। अहिले अन्य तालतलैयामा पनि यस्तो सेवा विस्तार भएको छ। पर्यटकलाई फरक अनुभव दिन नसके व्यवसायमा चुनौती थपिन सक्ने उनले बताए। व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा गर्नुको सट्टा फरक प्रकारका बोट र सेवा सञ्चालन गरेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने उनको सुझाव छ।
मल्लका अनुसार नारायणीमा मोटरबोट सञ्चालनका लागि ११ कम्पनी दर्ता भएका छन्। हाल नौ कम्पनीका तीन ठूला र १५ साना गरी १८ वटा मोटरबोट सञ्चालनमा छन्। नदीमा एकपटक घुम्न प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क लाग्छ।
चाडपर्वका बेला केही व्यवसायीले मोटरबोट सञ्चालन गरे पनि नियमित रूपमा पूर्ण क्षमतामा सेवा शुरु भइसकेको छैन। बाढीको जोखिम कायम रहेकाले व्यवसायीले सावधानी अपनाएर निश्चित मार्गमा मोटरबोट चलाइरहेको मल्लले बताए। नारायणी पुलमुनिबाट भने मोटरबोट लैजान अनुमति नदिइएको उनले जानकारी दिए।
नारायणी नदीमा मोटरबोट सञ्चालन गर्दै आएका व्यवसायी विजयचन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष कारोबार १० प्रतिशत पनि नरहेको बताए। दसैँका बेला नारायणगढमा पर्यटकको चहलपहल निकै कम देखिएको उनको भनाइ छ।
नदीको अवस्था बदलिँदा व्यवसायमा असर परेको अधिकारीले बताए। “गत वर्षको तुलनामा अहिले नदी धेरै घटेको छ र साँघुरिएको छ। चैत–वैशाखतिर त मोटरबोट चलाउनै कठिन हुन सक्छ,” उनले भने।
नारायणी नदीमा आएको बाढीले किनारका केही भाग कटान गरेको छ। बाढीको त्रास पनि पूर्ण रूपमा हटिसकेको छैन। नदीकिनारको अवस्था क्रमशः सहज हुँदै गएपछि पर्यटकको आवागमन र मोटरबोट व्यवसाय बढ्ने आशा व्यवसायीले गरेका छन्।





