१५ कार्तिक २०८३, शनिबार

‘जलाकी’को ट्रेलर सार्वजनिक, ‘पाँच पाण्डव’को नयाँ गीत बजारमा

ड्रागन मिडिया सम्वाददाता

नेपाली चलचित्र ‘जलाकी’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रको ट्रेलरले कलेज जीवनको प्रेमकथा, सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्व प्रस्तुत गर्छ। कथामा मगर समुदायको संस्कृति र परिवेश पनि समेटिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा उपासना सिंह ठकुरी, सोनम, शिल्पा मास्के, बुद्धि तामाङ, माओत्से गुरुङ र विजय लामा लगायतका कलाकारले अभिनय गरेका छन्। ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ।

यसैबीच, तिहारको अवसरमा कात्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव विकको स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन्। गीतको दृश्यमा इभा गिरीसहित चलचित्रका कलाकार देखिएका छन्।

काठमाडौंमा शुक्रबारदेखि शुरु भएको काठमाडौं फिल्म फेस्टिभल आज दोस्रो दिनमा प्रवेश गरेको छ। आज अभिनेत्री शबाना आजमीसँग चलचित्र र जीवन अनुभवबारे अन्तरसंवाद तथा अन्य सिर्जनात्मक कार्यक्रम हुँदैछन्। कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन, छलफल, प्रशिक्षण कक्षा र सम्पदा पदयात्रासहितका कार्यक्रम राखिएका छन्।

यसअघि शुरु भएको दोस्रो काठमाडौं हरर फिल्म फेस्टिभलमा २१ देशका २६ चलचित्र प्रदर्शन भइरहेका छन्। महोत्सवमा आठवटा पूर्णलम्बाइका र १८ वटा लघुचलचित्र समावेश छन्। रुसी चलचित्र ‘द विन्ड’ आज बिहान निःशुल्क प्रदर्शन गर्ने कार्यक्रम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button