देश ठूलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अव्यवस्थाले देश ठूलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत गरेको बताएका छन्।
भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कँदो अन्तरद्वन्द्व, न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था जटिल बनाएको बताएका हुन्।
उनले प्राकृतिक विपद्को बढ्दो भार, युवाको विदेश पलायन र सञ्चार क्षेत्र तथा नागरिक वृत्तमा चुलिँदो निराशालाई पनि सङ्कटका सङ्केतका रूपमा उल्लेख गरेका छन्।
“अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन। सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ भने सकारात्मक योगदान गरौँ, सक्दैनौँ भने नकारात्मक काम नगरौँ,” भट्टराईले लेखेका छन्।





