तराई केन्द्रित दलमा पुस्तान्तरणको माग बढ्दै

ड्रागन मिडिया सम्वाददाता
पुराना तराई केन्द्रित राजनीतिक दल र नेतृत्वप्रति जनविश्वास कमजोर बन्दै गएको भन्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज बढेको छ। नयाँ पुस्ताको आन्दोलनपछि विभिन्न दलमा पुस्तान्तरणको बहस चर्किएको र तराईका दलमा दबाब थपिएको समाचारमा उल्लेख छ।
तराईका केही युवाले पुस्तान्तरणको मागसहित ‘हुङ्कार मधेस’ नामक समूह गठन गरेर अभियान चलाइरहेका छन्। शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि युवालाई नेतृत्वमा ल्याउनुपर्ने माग गर्दै काठमाडौँसहित तराईका विभिन्न जिल्लामा अन्तरक्रिया गरिरहेको छ। प्रतिष्ठानले अभियानलाई ‘मधेस अबको बाटो’ नाम दिएको छ।
सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा प्रतिष्ठानले शनिबार कलैयामा कार्यक्रम गरेको थियो। तराईको राजनीतिक आन्दोलनको इतिहास, उपलब्धि, चुनौती र आगामी राजनीतिक तथा सामाजिक दिशाबारे छलफल गर्दै सहभागीहरूले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको निष्कर्ष निकालेका थिए।
कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले सरकारले तराईका मुद्दा सम्बोधन नगरे युवाले आफ्नै नेतृत्व विकास गर्नुपर्ने बताए। जनता समाजवादी पार्टीबाट हालै अलग भएका प्रदेशका पूर्व सांसद विक्की यादवले तराईको विकल्प तराई नै भएको उल्लेख गर्दै युवालाई नेतृत्वदायी भूमिका लिन आग्रह गरे।
अधिवक्ता आनन्द गुप्ताले नयाँ पुस्ताको आन्दोलनपछि पुराना दल र नेतृत्वप्रतिको विश्वसनीयता कमजोर भएको बताए। तराईको राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनर्परिभाषित गर्न युवाले संगठित प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
स्थानीय महिला नेतृ हिरमति कुशवाहाले तराईमा स्वच्छ छवि भएको नेतृत्वको आवश्यकता रहेको बताइन्।





