नेपाल र भारतका आन्दोलन एउटै शक्तिले गराएको भाजपा अध्यक्ष नवीनको दाबी

ड्रागन मिडिया सम्वाददाता
भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले नेपाल र भारतमा भइरहेका नयाँ पुस्ताका आन्दोलन एउटै शक्तिले गराएको दाबी गरेका छन्। दुवै देशले सहकार्य गरेर त्यसको सामना गर्नुपर्ने उनको भनाइ रहेको राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवसँगको भेटमा सहभागी एक नेताले बताएका छन्।
भेटमा सहभागी नेताका अनुसार नवीनले नेपाल र भारतका राजनीतिक, सामाजिक तथा आर्थिक समस्या साझा भएकाले समाधानका लागि दुवै देश मिलेर अघि बढ्नुपर्ने बताएका थिए। तर आन्दोलन गराउने भनिएको शक्ति कुन हो भन्नेबारे उनले खुलाएका छैनन्।
भेटमा नेपाल–भारत सम्बन्ध, दुवै देशको समसामयिक राजनीतिक तथा सामाजिक अवस्था र साझा सनातन सभ्यताको ऐतिहासिक महत्त्वबारे छलफल भएको जनाइएको छ। धार्मिक, सांस्कृतिक, सामाजिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
राष्ट्रिय एकता दलका अध्यक्ष यादवले आगामी मङ्सिर ४ गतेदेखि ‘हिन्दु सुरक्षा र हिन्दु राष्ट्र’ मुख्य विषय बनाएर मेची–महाकाली पदयात्रा गर्ने तयारी गरिरहेका छन्। त्यसको तयारीका लागि उनले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट र संवाद अघि बढाएको समाचारमा उल्लेख छ।





