डोल्पाको दानिगढमा हिमपातमा फसेका भारतीय पर्यटकको उद्धार तयारी

ड्रागन मिडिया सम्वाददाता
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ। केही दिनदेखि परेको भारी हिमपातका कारण उनीहरू त्यहाँ फसेका हुन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार शनिबार पर्यटक फसेको जानकारी प्राप्त भएपछि उद्धारको प्रयास थालिएको थियो।
फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेदकुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारी भइरहेको बताए।
प्रशासनले प्रतिकूल मौसमका कारण सिर्जना भएका तथा हुन सक्ने जोखिमबाट बच्न सजग र सुरक्षित रहन सबैलाई आग्रह गरेको छ।





