अमेरिकी राज्य व्यवस्थापिकामा चार नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा नेपाली मूलका चार जना उम्मेदवार राज्य व्यवस्थापिकाका लागि प्रतिस्पर्धा गर्दै छन्। मेरिल्यान्डमा ह्यारी भण्डारी र सतीश चापागाईं राज्य प्रतिनिधि सभाका उम्मेदवार छन्। न्यु ह्याम्पसायरबाट विश्वबहादुर शाह राज्य प्रतिनिधि सभाका लागि र न्युयोर्कको निर्वाचन क्षेत्र १०३ बाट सराहना श्रेष्ठ विधानसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।
भण्डारी र चापागाईं दुवै डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका हुन्। मेरिल्यान्डको निर्वाचन क्षेत्र ८ बाट भण्डारी र क्षेत्र ७ ‘ए’ बाट चापागाईं पार्टीको प्राथमिक निर्वाचन जितेर उम्मेदवार बनेका हुन्। अक्टोबर २२ देखि २९ सम्म अग्रिम मतदान भएको थियो।
भण्डारी यसअघि सन् २०१८ र २०२२ मा निर्वाचन क्षेत्र ८ बाट निर्वाचित भएका थिए। यसपटक उनी तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्। अमेरिकामा संसदीय जनप्रतिनिधि बन्ने पहिलो नेपाली मूलका व्यक्ति भण्डारीले आर्थिक कठिनाइ, स्वास्थ्य उपचार र उच्च शिक्षासम्बन्धी समस्यामा परेका नागरिकलाई सहयोग पुग्ने नीति अघि बढाएको बताएका छन्। नेपाली संस्कृतिको प्रवर्द्धनका लागि अक्टोबरको तेस्रो साता ‘दसैँ दिवस’ मनाउने प्रस्ताव राज्यको संसदीय अभिलेखमा समेट्न भूमिका खेलेको पनि उनले बताएका छन्।
पत्रकारिताबाट सार्वजनिक जीवनमा आएका चापागाईं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्। उनी अमेरिकाका सञ्चारमाध्यममा आबद्ध छन् र गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार पनि हुन्। पार्टीको प्राथमिक निर्वाचन जितेपछि आफू चुनावी प्रतिस्पर्धामा आएको बताउँदै उनले नेपाली मूलका अमेरिकी नागरिकका आवाज प्रतिनिधित्व गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। निर्वाचित भए नेपाली समुदायका मुद्दालाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ।
न्यु ह्याम्पसायरको हिल्सबरो काउन्टीस्थित निर्वाचन क्षेत्र ४१ बाट उम्मेदवार बनेका शाह पहिलोपटक राज्य प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्दै छन्। उनको चुनावी अभियानका मुख्य विषयमा जीवनयापनको खर्च घटाउने, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह र ज्येष्ठ नागरिकलाई सहयोग समेटिएका छन्। स्वास्थ्य सेवा तथा बाल हेरचाह सहज बनाउने, सार्वजनिक विद्यालयलाई पर्याप्त आर्थिक सहयोग दिने र कामकाजी परिवारलाई कर छुट उपलब्ध गराउने नीति अघि बढाउने उनले बताएका छन्।
न्युयोर्कको निर्वाचन क्षेत्र १०३ बाट उम्मेदवारी दिएकी सराहना श्रेष्ठ दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्। उनी सन् २०२२ मा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। अमेरिकामा विधानसभा सदस्य बन्ने पहिलो नेपाली महिला श्रेष्ठले सस्तो आवास, जलवायु नीति, स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा, कामदार सुरक्षा र बाल हेरचाहका विषय उठाउँदै आएकी छन्।
अमेरिकाका स्थानीय तहमा हाल आठ नेपाली मूलका जनप्रतिनिधि रहेको समाचारमा उल्लेख छ। टेक्ससको युलेस शहरका उपप्रमुखमा टीका पौडेल र मेरिल्यान्डको इन्डियन हेड नगरका उपप्रमुखमा किरण सिटौला छन्। नगर परिषद् सदस्यका रूपमा डिल्ली भट्टराई, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चिरन न्यौपाने, भुवन प्याकुरेल र मधु पन्थी कार्यरत छन्। चार उम्मेदवारको प्रतिस्पर्धाले अमेरिकी राज्यस्तरको राजनीतिमा नेपाली समुदायको प्रतिनिधित्व थप विस्तार गर्ने अपेक्षा गरिएको छ।





